एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधिका लागि नेपाल पुलिस र न्यु डायमन्ड स्पोट्र्स क्लबबीच प्रतिस्पर्धा हुने
पुस १८, २०८२ | काठमाडौं
काठमाडौंमा जारी नवौं एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधिका लागि नेपाल पुलिस क्लब र टिप टप न्यु डायमन्ड स्पोट्र्स क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लालाई ३–१ को सेटमा हराएर न्यु डायमन्डसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
आर्मीविरुद्ध पुलिस २५–१२, २९–३१, २५–१४ र २५–१८ ले विजयी भएको हो । त्यसअघि पहिलो सेमिफाइनलमा न्यु डायमन्डले एपिएफलाई ३–० को सेटमा हराएको थियो । न्यु डायमण्डले एपीएफलाई २५–१७, २५–२० र २५–७ ले हरायो ।
पुरुषतर्फ नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपाल स्पोट्र्स क्लब फाइनल प्रवेश गरेको छ । हेल्प नेपालले पुलिसलाई २५–२१, २५–२३ र २५–२२ ले हरायो । तेस्रो सेटमा पुलिसले २२–२० को अग्रता बनाएपनि जोगाउन सकेन ।
हेल्प नेपालले लगातार ५ अंक जोडेर खेल जित्यो । हेल्प नेपालले अब उपाधिका लागि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ । महिला पुरुष दुबैतर्फको फाइनल खेल भोली हुनेछ ।










