दिल्लीका मुख्यमन्त्री केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

चैत्र १५, २०८० | काठमाडौं

दिल्ली उच्च अदालतले मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

उच्च अदालतले केजरीवाललाई रिहाइ गर्न अस्वीकार गरेको भोलिपल्ट आज फेरि उहाँलाई प्रवर्तन निर्देशनालय (ईडी) ले अदालतमा उपस्थित गराएको थियो । त्यसपछि अदालतले केजरीवाललाई आगामी अप्रिल १ सम्म हिरासतमा राख्न अनुमति दिएको हो ।

इडीले मार्च २१ मा केजरीवाललाई पक्राउ गरेको थियो । आसन्न निर्वाचनको तयारी भइरहेका बेला आम आदमी पार्टी नेता केजरीवाललाई पक्राउ गरिएको भन्दै भारतमा विरोध भएका छन् ।

त्यस्तै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले केजरीवाललाई गिरफ्तार गरिएको विषय निगरानीमा राखेको भन्दै स्वच्छ र छिटो कानुनी प्रक्रिया अघि बढाएको सुनिश्चित गर्न केही दिनअघि भारत सरकारलाई आग्रह गरेका थिए । अमेरिकाको सो भनाइप्रति भारतले आपत्ति जनाइसकेको छ ।  


प्रतिक्रिया