भारतका उपराष्ट्रपतिलाई कोरोना

आश्विन १४, २०७७ | नयाँ दिल्ली

भारतका उपराष्ट्रपति वेंकैया नायडुलाई कोरोना संक्रमण भएको छ । उपराष्ट्रपति नायडुको आधिकारिक ट्विटरामार्फत नायडुलाई संक्रमण भएको जानकारी हिजो साँझ दिइएको हो । 

उपराष्ट्रपति नायडुको ट्विटमा भनिएको छ, ‘नियमित परीक्षण गर्दा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यद्यपी लक्षण नदेखिएको र स्वास्थ्य सामान्य रहेको छ ।’ हाल उहाँ घरमै क्वरेन्टिनमा हुनुहुन्छ । उहाँकी श्रीमती उषा नायडुको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । 

 ७१ बर्षीय नायडु कोरोना संक्रमण हुने भारतको वहालवाला सबैभन्दा उच्च अधिकारी हुनुहून्छ । यसअघि संक्रमण पुष्टि भएका केन्द्रीय मन्त्रीहरु अमित शाह, नितिन गडकरी, धमेन्द्र प्रधान र गजेन्द्र सिंह शोखावत निको भइसकेका छन् ।

भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिइरहेको छ । विश्वका संक्रमण अधिक हुने मुलुकहरुमा भारत दोस्रो स्थानमा छ । भारतमा हालसम्म ६१ लाख ४५ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ भने ९६ हजार ३ सय १८ जनाले ज्यान गुमाइसकेका छन् । 

विश्वभर हालसम्म ३ करोड ३५ लाख ५७ हजार १ सय बढीमा कोरोना संक्रमण पुष्टि हुँदा १० लाख ६ हजार ४ सय ९३ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये २ करोड ३२ लाख ९६ हजार ९ सय ८८ जना निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ । 


प्रतिक्रिया