एनपीएलको तेस्रो संस्करण भोलिदेखि: बढ्यो पुरस्कार राशि, डीआरएस र स्टार खेलाडीको आकर्षण

कार्तिक ८, २०८३ | काठमाडौं

बडादसैँ सकिएलगत्तै नेपाली खेलकुद क्षेत्रमा पर्वकै रूपमा लिइएको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण भोलिदेखि सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा झन्डै एक महिनासम्म सञ्चालन हुने घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएल आगामी नोभेम्बर २१ सम्म चल्नेछ। क्रिकेटप्रेमीहरूका लागि यो एक महिना पर्वको उत्सवसरह बन्ने अपेक्षा गरिएको छ। त्यसैले प्रतियोगितालाई ‘फेस्टिभल अफ हिमालय’ अर्थात् ‘हिमालयको उत्सव’ भन्ने नारासमेत दिइएको छ।

एनपीएलको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र अघिल्ला दुई संस्करणमा फाइनलसम्म पुगेर उपविजेतामा सीमित भएको सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिनेछन्। लुम्बिनीको नेतृत्व रोहित पौडेलले गर्नेछन् भने सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन्। लुम्बिनीलाई उपाधि रक्षा गर्ने चुनौती छ भने लगातार दुई संस्करणमा फाइनलमा पराजित सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ।

प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। नेपाल क्रिकेट संघले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत पुरस्कार राशिबारे जानकारी दिएको हो। प्रतियोगिताको उद्घाटन खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्यानका कोषाध्यक्ष पदम खड्काले एनपीएलको आम्दानी बढेकाले पुरस्कार राशि पनि वृद्धि गरिएको जानकारी दिए।

यसैबीच, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) नेपाली क्रिकेटको विकासप्रति प्रतिबद्ध रहेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा चन्दले पछिल्लो समय आईसीसीका निर्णयहरू नेपालको पक्षमा आएको उल्लेख गर्दै नेपाली राष्ट्रिय टोलीले हालै आगामी चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता कायम राख्न सफल भएको बताए।

प्रतियोगितालाई सुरक्षित र मर्यादित बनाउन सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। मैदानवरपर हुन सक्ने अवाञ्छित गतिविधि तथा म्याच फिक्सिङजस्ता सम्भावित जोखिममाथि निगरानी बढाइएको छ। प्रतियोगिताका क्रममा हुन सक्ने सट्टेबाजी लगायतका गतिविधि नियन्त्रण गर्न उच्च सतर्कता अपनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताए।

यसअघिका संस्करणमा पनि प्रहरीले प्रतियोगिताको अवधिभर सुरक्षा सतर्कता अपनाएको थियो। सट्टेबाजी गराएको आरोपमा केही विदेशी नागरिकलाई नियन्त्रणमा समेत लिइएको थियो। यसपटक खेल हेर्न आउने समर्थकको भीडमा हुन सक्ने चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न र सम्भावित आपत्कालीन अवस्थालाई व्यवस्थापन गर्न बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने एसपी थापाले बताए।

नेपाल प्रिमियर लिग (एनपीएल) को यस संस्करणलाई अघिल्ला संस्करणभन्दा थप परिमार्जित र रोमाञ्चक बनाउने तयारी गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक मान्यता र विदेशी खेलाडीहरूको बढ्दो आकर्षणले यसपटकको प्रतियोगितालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। यस संस्करणको सबैभन्दा महत्त्वपूर्ण विशेषता प्रतियोगिताले पाएको आधिकारिक टी–२० मान्यता हो। यससँगै एनपीएलमा खेलाडीहरूले बनाएका रन र लिएका विकेट उनीहरूको आधिकारिक टी–२० करिअरको अभिलेखमा समेत गणना हुनेछन्।

यस संस्करणको अर्को प्रमुख आकर्षण पहिलोपटक प्रयोग हुन लागेको डिसिजन रिभ्यु सिस्टम (डीआरएस) हो। अम्पायरको निर्णयप्रति असन्तुष्टि भएमा टोलीहरूले भिडियो प्रविधिको सहायताले निर्णय पुनरावलोकन गर्न माग गर्न सक्नेछन्। यसअघिका घरेलु प्रतियोगितामा अम्पायरका निर्णयलाई लिएर विवाद हुने गरेका थिए। डीआरएसको प्रयोगले यस्ता विवाद कम गर्न र खेलमा निष्पक्षता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

महँगो मानिने यो प्रविधिको प्रयोगले प्रतियोगिता सञ्चालनको खर्च बढाए पनि नेपाली क्रिकेटमा आधुनिक प्रविधिको प्रयोगका लागि बलियो आधार तयार गर्नेछ। यस प्रविधिले बलको प्रक्षेपण ट्र्याक गर्न तथा बल ब्याट वा प्याडमा लागेको अवस्थाको सूक्ष्म विश्लेषण गर्न सहयोग पुर्‍याउनेछ। यसबाट विवादास्पद निर्णय न्यूनीकरण हुनुका साथै खेलको निष्पक्षता र विश्वसनीयता बढ्ने अपेक्षा गरिएको छ।

आईसीसीबाट आधिकारिक मान्यता पाएसँगै यसपटक फ्रेन्चाइज टोलीहरूलाई विदेशी खेलाडीको संख्या बढाउन अनुमति दिइएको छ। नियमअनुसार प्रत्येक टोलीले आफ्नो समग्र खेलाडी सूचीमा आठ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछ। तर, मैदानमा उत्रिने प्लेइङ–११ मा भने एक टोलीबाट बढीमा चार जना विदेशी खेलाडी मात्र खेल्न पाउने व्यवस्था गरिएको छ।

यसपटकको एनपीएलमा अस्ट्रेलियाका स्टार ब्याटर डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर र बंगलादेशका सकिब अल हसनजस्ता चर्चित खेलाडीको सहभागिताले प्रतियोगिताप्रति थप आकर्षण बढाएको छ। सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका ब्याटर शेरफेन रदरफोर्ड तथा फाबियन एलेनलाई पछिल्लो समय टोलीमा भित्र्याएको छ भने साविक विजेता लुम्बिनी लायन्सले बंगलादेशका शामिम हुसेनलाई अनुबन्ध गरेको छ। पोखरा एभेन्जर्सले पनि बंगलादेशका अलराउन्डर मोहम्मद सैफुद्दिनलाई टोलीमा समावेश गरेको छ।

विदेशी खेलाडीको बलियो उपस्थितिका कारण विराटनगर किङ्सलाई उपाधिको दाबेदारका रूपमा चर्चा गर्न थालिएको छ। त्यस्तै, दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेभिड मिलरलाई टोलीमा भित्र्याएको कर्णाली याक्सलाई पनि उपाधि दौडमा चुनौती प्रस्तुत गर्न सक्ने टोलीका रूपमा हेरिएको छ।


प्रतियोगितालाई लक्षित गर्दै त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भौतिक संरचनामा पनि केही सुधार गरिएको छ। क्यानका अनुसार दर्शक क्षमता विस्तार गर्नुका साथै स्कोरबोर्ड र सञ्चारसम्बन्धी सुविधामा सुधार गरिएको छ। यी सुधारले प्रतियोगिता सञ्चालनलाई थप व्यवस्थित बनाउनुका साथै दर्शकको अनुभवसमेत सुधार गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया