भारतीय बजारमा नेपाली बन्दाकोभी निर्यात

भारतीय बजारमा निर्यातका लागि धरानको कृषि उपज बजारमा तयार नेपालको बन्दाकोभी । तस्बिर : प्रदीप मेन्याङ्बो/रेडियो कान्तिपुर । 

आश्विन ५, २०७७ | सुनसरी

पूर्वी पहाडका किसानहरुले आफ्नो खेतबारीमा उत्पादन गरेको बन्दाकोभीको माग भारतीय बजारमा बढेसँगै निर्यात पनि वृद्धि भएको छ । तरकारीको रुपमा प्रयोग हुने बन्दाकोभी अन्य फलफूल तरकारीको तुलनामा सबैभन्दा बढी भारतमा निर्यात हुने गरेको धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो । 

कोशी करिडोरमा पर्ने संखुवासभा, तेह्रथुम र धनकुटाका विभिन्न गाउँमा उत्पादित बन्दाकोभी भारतीय उपभोक्ताको चुलासम्म पुग्दा वार्षिक करीब ५० करोड रुपैयाँको कारोबार हुने गरेको छ । स्वदेशी उत्पादनको यति धेरै कारोबार हुनु नेपालको लागि फलदायी भएपनि निर्यात भने वैधानिक हुन सकेको छैन । 

भट्टराईले भन्नुभयो, ‘भारतीय बजारमा नेपाली कृषकले उत्पादन गरेका बन्दाकोभी दुई तरिकाले निर्यात हुने गरेको छ । एक तरिका, धरानको यो कृषि उपज बजारमा संकलित भएर नेपाल र भारतका व्यापारीले निर्यात गर्ने गरेका छन् । अर्को यहाँ संकलन नगरी कृषक तथा व्यापारीहरुले धनकुटा, तेह्रथुम र संखुवासभाबाट सीधै भारतीय बजारमा निर्यात गर्ने गरेका छन् ।’ 

उहाँका अनुसार कृषि उपज बजारमा कोशी करिडोरका जिल्लाका किसानहरुबाट उत्पादित मध्ये वार्षिक रुपमा सरदर १३ हजार मेट्रिक टन बन्दाकोभी संकलित भएर थोक विक्रेता र खुद्रा विक्रेता मार्फत उपभोक्तासम्म पुग्ने गरेको छ । 

उहाँले भन्नुभयो, ‘यहाँ संकलित १३ हजार मेट्रिक टन मध्ये ५० प्रतिशत स्थानीय बजारमा खपत हुन्छ । बाँकी भारतीय बजारमा निर्यात हुने गरेको छ ।’ कृषि उपज बजारमा संकलित नभई सीधै निर्यात हुने बन्दाकोभीको कारोबार अझै बढी भएको उहाँले बताउनुभयो ।

पूर्वी पहाडका कृषकले उत्पादन गरेका बन्दाकोभी भारतीय बजारमा सबैभन्दा बढी निर्यात गर्ने धनकुटास्थित सिंधुवाका अगुवा कृषक समेत रहेका मेगिन्द्र गुरुङ्ले भने, ‘तराई क्षेत्रमा कम उत्पादन भएको बेला भारतीय बजारमा नेपालको बन्दाकोभीको माग धेरै हुन्छ । हामी आफ्नै तरिकाले निर्यात गर्दै आएका छौं ।’ 

उनका अनुसार एक सिजनमा करीब ३८ करोड रुपैयाँ बराबरको बन्दाकोभी सिलिगुडी बजारमा पुर्‍याउने गरिएको छ । उनले भने, ‘तर सरकारीस्तरबाट बन्दाकोभी निर्यातका लागि कुनै पहल भने भएको छैन । सरकारले पहल गरेमा निर्बाध निर्यात गरेर वार्षिक करोडौंको आर्जन नेपालले गर्न सक्थ्यो ।’

भारत निर्यात गर्न सकिने नेपालको फलफूल तरकारीमा बन्दाकोभी पनि सूचीकृत भएको छ । तर, वैधानिक रुपमा निर्यात गर्नका लागि नेपाल सरकारले बेवास्ता गरेको कृषक गुरुङ्ले बताए । भारतीय भन्सारका पदाधिकारीलाई रिझाएर हालसम्म निर्यात हुँदै आएको नेपाली बन्दाकोभीको बजार भारतमा रहेपनि सरकारले त्यता ध्यान दिन नसकेको उनले बताए । 

नेपालको बन्दाकोभी भारत निर्यात हुन रोकिँदा पहुच भएका व्यापारी र ठूलो मात्रामा उत्पादन गर्ने स्थानीय कृषकहरुले भारतबाटै क्वारेन्टिन सम्बन्धी जानकार विज्ञहरुलाई बोलाएर स्थलगत ‘भिजिट’ गराउने गरेको पनि कृषकहरुले बताए ।


प्रतिक्रिया