तनहुँ डायरी

रेडियो कान्तिपुर संवाददाता

पुस २०, २०७१

पुर्ण बिके 

पौष २०, तनहुँ । 

जिल्लाको ऋषिङ रानीपोखरी र कोटदरवारका बासिन्दा संगठित भई विपद्को लागि भन्दै मासिक रुपमा रकम र अन्न संकलन अभियान थालेका छन् । अहिलेसम्म दुई गाविसका उनीहरुले २ लाख ७० हजार रुपैंयाँ भन्दा धेरै रकम र करिव ७ सय पाथी भन्दा धेरै कोदो र मकै लगायतका अन्न संकलन गरी भण्डारण गरेका छन् । दुई वटै गाविस भुक्षय र आगलागीको जोखिममा रहेकाले विपद् व्यवस्थापन कोष र अन्न भण्डारण अभ्यास थालिएको समितिका अध्यक्ष चिजकुमार श्रेष्ठले बताए । जिल्ला रेडक्रस सोसाईटीको समन्वयमा दुई वटा गाविसका करिव ६ सय जनाले विपद् व्यवस्थापन तालिम समेत प्राप्त गरेका छन् । 

 

तनहुँ हाइड्रोपावर निर्माण कार्य सुचारु हुने भएपछि जिल्लावासी उत्साहीत भएका छन् । उर्जामन्त्री राधाकुमारी ज्ञवालीले परामर्शदाता नियुक्ति बदर गरेपनि मन्त्रिपरिषद्ले निर्णय उल्ट्याएर जर्मन कम्पनि ल्याहमेयरलाई नै काम गर्न दिने बातावरण बनेकाले आन्दोलन टरेको तनहुँ उद्योग वाणिज्य संघका महासचिव बैकुण्ठ मिश्रले बताउनुभयो । १ सय ४० मेगावाट क्षमताको जलाशययुक्त सो आयोजनाले मुलुककै विद्युतिय क्षेत्रमा ठुलो प्रभाव पार्ने भएकाले मुलुकको विद्युत भारवहन कटौतीमा समेत टेवा पुर्‍याउने उनले बताए । 

 

आँबुखैरेनी ६ शान्तिटोलका ७१ बर्षीय जितमान तामाङ विहानदेखि साँझसम्म माछा पालन गर्ने पोखरी र तरकारी खेती रेखदेखमा नै व्यस्त हुने गर्छन् । माछा पालन शुरु गरेको २० बर्षमा उनले घरघडेरी र ट्याक्टर समेत जोड्न सफल भएका छन् । २०५१ सालमा बनेपाबाट रित्तोहात आएको आफुले आँबुखैरेनी बजारमा जग्गा भाडामा लिएर माछा पालन गरेपछि आर्थिक उपार्जन गर्न सकेको उनले बताए । माछापालन गरेपछि उनले करिव ४० लाख रुपैंयाँ खर्चिएर घरघडेरी र २२ लाख रुपैंयाँ खर्च गरी ट्याक्टर समेत जोडेको बताए । उनले करिव ७ रोपनी पोखरीमा माछा पालन र करिव ७ रोपनीमा तरकारी खेती गरेका छन् । 


प्रतिक्रिया