धरानमा एकै परिवारका पाँच सहित १३ जनामा कोरोना

श्रावण २२, २०७७ | धरान

सुनसरीको धरानमा एकै परिवारका पाँचजना सहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय ३० जनाको पीसीआर परीक्षण गरीएकोमा १२ जनामा पोजेटिभ देखिएको हो ।

यसैवीच आजविहान थप एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ । धरान ३ सव्जीमण्डी बस्ने २६ बर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमितमध्ये धरान ३ गौधारा बस्ने एकै परिवार ५ जना, धरान ११ बस्ने एक महिला र भारतबाट आएर एन्फा क्वारेन्टीनमा बसेका भारतीय गोर्खा सैनिकहरु रहेका छन् । भारतीय गोर्खा सैनिकहरु सबैको घर धरान नै हो । धरान औद्योगिक क्षेत्रको प्रिति भल्व उद्योगमा काम गर्नेहरुबाटै समुदायस्तरमा फैलिएको हुनसक्ने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताउनुभयो । 

एकसाता अघि सोही उद्योगमा अडिट गर्ने धरान १३ का एक युवकमा कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक ट्रेसिङ गर्दै जादा प्रिति भल्वमा काम गर्ने अधिकांश कामदारमा कोरोना पोजेटिभ देखिएको हो । एकै घरपरिवारका ५ जनाको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गर्ने तयारी भइरहेको छ । 

संक्रमित सबैलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइशोलेसन सेन्टरमा पठाउने तयारी भइरहेको पनि मेहताले बताउनुभयो ।

धरानका स्थानीय बासिन्दामा ट्र्राभल हिस्ट्री नभएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएकाले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको चिकित्सकहरुले बताएका छन् । वीपी प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा. डा. संजीव शर्माले समुदाय स्तरमा कोरोना फैलिएकाले संक्रमण फैलिनबाट रोक्न सर्वसाधारण आफै सचेत हुनुपर्ने बताउनुभयो ।


प्रतिक्रिया