हरियो चियापत्तीको मूल्य अहिलेसम्मकै उच्च

श्रावण २४, २०७७ | झापा

हरियो चियापत्तीले यस बर्ष अहिलेसम्मकै उच्च मूल्य पाएको छ । झापामा अहिले हरियो पत्ती प्रतिकेजी ४० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ । 

सीटीसी चियाको हरियो पत्तीले अहिलेसम्म यो मूल्य पाएको थिएन । सबैभन्दा कम गुणस्तरको पत्ती पनि प्रतिकेजी ३० रुपैयाँमा बिक्री भइरहेको चिया उद्योगी बताउँछन् । साउन महिना चियाको मध्य सिजन हो । ठूलो संख्यामा हरियो पत्ती उत्पादन हुने भएकोले असार–साउनमा चिया पत्तीले खासै मूल्य पाउने समय होइन । तर, यस बर्ष कम मूल्य पाउने सिजनमै इतिहासकै सबैभन्दा उच्च मूल्य पाउदा चिया किसान उत्साहीत बनेका छन् ।

भारतीय बजारमा नेपाली चियाको माग बढेकोले हरियो पत्तीको मूल्य पनि बढेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सदस्य हर्क तामाङले बताउनुभयो । उहाँ अनुसार तयारी चियाको मूल्य पनि यस बर्ष निकै बढेको छ । भारतीय व्यापारीले तयारी चिया प्रतिकेजी २ सय ५० देखि ३ सय रुपैयाँसम्ममा खरिद गरिरहेका छन् । यो मूल्य गत बर्षको भन्दा दोब्बर हो । गत बर्ष तयारी सीटीसी चिया प्रतिकेजी एक सयदेखि १३० रुपैयाँमा मात्र बिक्री भएको थियो । कोरोना भाइरसको संक्रमणका कारण भारतीय चिया क्षेत्र प्रभावित बनेको छ । त्यसको असरस्वरुप नेपालमा चियाको मूल्य वृद्धि भएको चिया उद्योगी बताउछन् ।

चियाको मूल्य वृद्धि भएकै बर्ष उत्पादनमा भने ह्रास आएको छ । लकडाउन र प्रतिकुल मौसमका कारण यस बर्ष बगानमा हरियो चिया पत्तीको उत्पादन ५० प्रतिशतले घटेको क्लासिक तराई टी इन्डष्ट्रिजका सञ्चालक रमेश पौडेलले बताउनुभयो । 


प्रतिक्रिया