कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

श्रावण २६, २०७७ | काठमाडौं

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गोतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । 

ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत कंलकीका ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलालका अनुसार बिहान ५ बजेर ४० मिनेटमा उनको मृत्यु भएको हो । उनी कलेजो तथा मधुमेहका बिरामी थिए ।

बाँकेको कोहलपुर नगरपालिका–२ का ७० वर्षीया एक वृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा यही साउन २५ गते दिउँसो ३ बजेर १० मिनेट जाँदा उनको मृत्यु भएको थियो । उनी उच्च रक्तचापका बिरामी थिए । उनी साउन २३ गते अस्पताल भनाई भएकी थिईन् ।

पर्साको वीरगञ्ज महानगरपालिका–१५ भेडियाहीकी ४५ वर्षीया महिलामा कोरोना संक्रमणबाट मृत्यु भएको छ । साउन २५ गते नारायणी अस्थाई कोरोना गण्डक अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । श्वास प्रस्वासमा समस्या देखिपछि ती महिलालाई इण्डो नेपाल अस्पतालमा भर्ना भएकी थिईन । स्वास्थ्यमा सुधार नआएपछि शनिबार नै कोरोना अस्पताल लगिएको थियो । उनी हाइपर टेन्शन र हाइपर थाइराइडको रोगी थिइन् ।

काठमाडौं महानगरपालिका–१० मध्ये बानेश्वरका ७६ वर्षीय एक वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको मेडिकेयर अस्पतालमा उपचारको क्रममा सोमबार बिहान उनको मृत्यु भएको हो ।

यस्तै, काडमाडौंको कीर्तिपुर नगरपालिका ट्याङला फाँट बस्ने ६४ वर्षीय एक पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । सोमबार बिहान ५ बजेर ४२ मिनेट जाँदा उनको मृत्यु भएको हो ।


प्रतिक्रिया