तेजाव आक्रमण गर्नेलाई २० वर्ष कैद

आश्विन १२, २०७७ | काठमाडौं

तेजाब आक्रमणका दोषीलाई २० वर्षसम्म जेल सजाय र १० लाख रुपैयाँसम्म जरिवाना हुने गरी कानून कार्यान्वयनमा आएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश जारी गरेसँगै तेजाब आक्रमणलाई संघीन अपराधका रुपमा कडा कानून कार्यान्वयनमा आएको हो ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश नयाँ हो, जसमा तेजाब बिक्री वितरणमा अनुमति लिनुपर्ने लगायत कडा प्रावधान राखिएको छ । यस्तै, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश हो । जसमा ५ वटा मौजुदा कानून संशोधन गर्दै तेजाब आक्रमण गर्नेलाई विगतको भन्दा कडा सजायको व्यवस्था गरिएको छ । 

अब अनुहारमा तेजाब आक्रमण गरेमा २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुनेछ । यस्तै, आंशिक क्षति पुर्‍याएमा १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुनेछ । 

मन्त्रिपरिषदको गत बिहीबारको बैठकले अध्यादेश पारित गर्दै जारी गर्न राष्ट्रपति समक्ष पठाएको थियो । पछिल्लो समय एसिड आक्रमणको घटना बढेकाले ऐन संशोधन गरेर कडा कारबाहीको व्यवस्था गरेको सरकारले जनाएको छ ।


प्रतिक्रिया