चाडपर्व लक्षित सुपथ मुल्य पसल विहीबारबाट

आश्विन १३, २०७७ | काठमाडौं

सरकारले चाडपर्वलाई लक्षित गरेर आगामी विहीबारबाट सुपथमुल्य पसल सञ्चालन गर्ने भएको छ । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशन, खाद्य विकास तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थान डीडीसीले मंसिर ६ गतेसम्म खुल्ने गरी काठमाडौं उपत्यका सहित मुलुकका विभिन्न स्थानमा सुपथ मुल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।

खाद्य संस्थानले काठमाडौं उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सुर्यविनायकमा पसल सञ्चालन गर्नेछ भने उपत्यका बाहिरका २४ स्थानमा काउन्टर खोल्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

यस्तै साल्ट ट्रेडिङले उपत्यकाका कालीमाटी, जडीबुटी, सतुङ्गल, सुर्यविनायक सहित ५ स्थानमा सर्वसाधारणका लागि काउन्टर खुल्ला गर्नेछ । उपत्यका बाहिरका २३ स्थानमा पनि पसल सञ्चालन गर्नेछ । 

डीडीसीले भने लैनचौर, न्युरोड र खुमलटारमा काउन्टर खुल्ला गर्नेछ । सुपथमुल्य पसलमा खरिद गर्न पुग्ने सर्वसाधारणको कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा भने छलफल भइरहेको प्रमुख कार्यकारी अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

यसैबीच दशैंका लागि यो वर्ष मकवानपुर र दाङबाट १ हजार खसीबोका ल्याइने भएको छ । च्याङग्रा पनि सोही परिमाणमा मुस्ताङबाट ल्याउन लागिएको खाद्य विकास तथा व्यापार कम्पनी लिमिटेड कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवेदीले जानकारी दिनुभयो । माग बढी भएमा थप खसीबोका ल्याउन सकिने पनि उहाँले बताउनुभयो ।


प्रतिक्रिया