पाकाको काँधमा यार्तुङ

तस्बिर सौजन्य: कैलाशबाबु तिवारी र विनोद गुरुङ । 

श्रावण १२, २०७७ | लमजुङ

बर्खायाम । हिमाली जिल्ला मनाङ । न कोरोना संक्रमणको डर । न बाढी पहिरोको त्रास । माथिल्लो मनाङमा पानी परेको छैन । गाउँका युवा विदेश छन् । कोही घरजम गरेर बसेका छन् । यार्तुङ पर्वको रौनक छ । तिब्बती भाषामा ‘यर’ को अर्थ बर्खा हुन्छ । ‘त’ को अर्थ घोडा हो । ‘यर–त’ बाट अपभ्रंश भएर यार्तुङ भएको किंवदन्ती छ । यार्तुङ भनेको घोडा दौडाउने पर्व हो । 

यही पर्व माथिल्लो मनाङबासीले ४ दिनसम्म मनाउँछन् । अविवाहित युवक यसको संयोजक बन्छ । अवस्था हेरेर २ देखि ४ जनासम्म गाउँ भेलाले संयोजक तोकेको हुन्छ । संयोजकलाई स्थानीय भाषामा ‘नन्दी’ भनिन्छ । तिनै संयोजक नै आयोजक हो । उसैले खर्चपर्चको समेत व्यवस्थापन गर्नुपर्छ । उनीहरुका लागि सहयोग पनि हुन्छन् ।

यसवर्ष परिस्थिति फरक बन्यो । युवाले सञ्चालन गर्न नसक्ने भएपछि उनीहरुले गाउँलेलाई भने । गाउँलेले पाकालाई सुम्पियो । यसअघि २०/२२ वर्षका युवा आयोजक बनेर मनाइने यार्तुङ पर्व यसवर्ष ५५ वर्षका ४ जनाले सम्हालेका छन् । ५५ वर्षका पनि २ जना ज्वाइँ छन् । उनीहरु मनाङमै विवाह गरेर बसेको ३ दशक बित्यो । यसवर्ष ४ जना नन्दी तोकिएका छन् । 

नन्दीलाई सहयोग गर्ने ४ जना पनि पाका उमेरका छन् । उनीहरु अर्को वर्ष नन्दी बन्ने छन् । सोलखुम्बु घर भई ज्वाइँ बनेर ३ दशक बढी समय मनाङ बस्दै आएका मनबहादुर राईले भने, ‘पोहोरसम्म केटाहरुले गरेका थिए । यसवर्ष केटाहरुले सकेनन् भनेर हामीलाई सुम्पिए । गाउँलेले तोकेपछि नाइँ भन्न मिल्दैन । युवाले नसकेपछि यार्तुङ जोगाउने जिम्मा हाम्रै काँधमा आयो ।’

मनाङ गाउँकै कान्छा (चटपटे) गुरुङ, वाङ्गेल गुरुङ साथै मनाङी ज्वाइँ मनबहादुर राई र बलबहादुर भुजेल यसपटकका लागि नन्दी छन् । उनीहरु सबै ५५ वर्षका हुन् । नन्दीका सहयोगी एवं पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार शुक्रबार माथिल्लो मनाङको मनाङ गाउँमा यार्तुङको रौनक छ । सोमबारसम्म यो रौनक रहन्छ । ‘कोरोना संक्रमणले गर्दा यसवर्ष मुस्ताङी पनि आएनन् । पर्यटक हुने कुरै भएन’ उनले भने, ‘झन् अहिले युवा पनि भएन । यार्तुङ जोगाउने जिम्मा हाम्रै काँधमा आयो ।’

यार्तुङ पर्वमा १६ वर्षदेखि ५५ वर्ष उमेर समूह सम्मका सबैलाई घोडा दौडाउन उर्दी गरिएको छ । अटेरी गरे प्रत्येक दिन १ हजार रुपैयाँ जरिवाना तोकेको छ । यो पनि पर्वलाई निरन्तरता दिनको लागि हो भन्छन् विनोद गुरुङ । जुठो परेकालाई घोडा दौडाउनुपर्ने बाध्यता छैन । उनका अनुसार हिमाली फेदसम्मै मोटरबाटो बनेपछि घोडा बेचेर धेरैले मोटरसाइकल किने । यसपटक करीब १ सय जनाले घोडा दौडाएका छन् । ‘

हामी आफैं घोडा दौडाएका छौं । लकडाउन भएकाले काठमाडौं–पोखराबाट पनि केही युवा फर्किए । पाका पनि सहभागी भएकाले यार्तुङ पर्व निकै रोमाञ्चक बनिरहेको छ’ उनले भने । माथिल्लो मनाङको मनाङ गाउँ र टंकी गाउँ मिलेर हरेक वर्ष यार्तुङ पर्व मनाईंदै आएको छ ।

घोडा दौडाउनेले थरीथरीका कला देखाउने गर्छन् । मनाङ र भ्राकाको बीचको समथर ठाउँमा घोडा दौडाइएको छ । पोषाक लगाएर दिउँसो मध्याह्नपछि घरबाट निस्किएकाहरु २ बजेतिर सो समथर ठाउमा पुग्छन् । ३ बजेदेखि घोडाचढी यार्तुङको गीत गाउँछन् । त्यसपछि घोडा दौडाउने कार्य सुरु हुन्छ । ५ बजे घोडा चढेर उनीहरु आ–आफ्नो घर फर्किन्छन् ।

मनाङ समुद्री सतहदेखि ३ हजार ५ सय ४० मिटर उचाइमा यो पर्व मनाइन्छ । अन्तिम दिन घोडा चढेर गुम्बामा गई पूजापाठ गर्नुका साथै रोटी र सगुन खाएर नाचगान गर्ने चलन छ । स्थानीयका अनुसार गुम्बा जाँदा युवाहरुले आफ्नो पछाडि मन परेका ब्यक्तिलाई समेत राख्ने गर्छन् । पूजा गरी फर्केर लामाबाट वाङ (अभिषेक) थापेपछि पर्वको समापन हुने स्थानीय बताउँछन् ।

यो पर्व बर्खायाममा मनाइन्छ । यो बेला किसानीका लागि बढी दु:ख हुने र रमाइलो गर्न हर्षोल्लासका साथ यार्तुङ मनाइने मनाइने मनाङ गाउँका पूर्व म्हिथेवा (गाउँ प्रमुख) कर्मा गुरुङ बताउँछन् । उनका अनुसार बर्खायामलाई विदाई गर्न यो पर्व मनाइन्छ । यो पर्व बाली लगाएपछि थकान मेटाउन र रमाइलो गर्न परापूर्वकालदेखि हरेक वर्ष मनाइने गरिएको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले बताउनुभयो । मनाङसंगै भ्राका, पिसाङ, चामे लगायत गाउँमा यो पर्व मनाइन्छ । सुरुमा मनाङगाउँमा यार्तुङ मनाएपछि मात्रै अन्य गाउँमा यो पर्व मनाइने गरिन्छ । चामेमा भने फरक समयमा मनाउने गरिन्छ ।


प्रतिक्रिया