ओ पोजिटिभको ठाउँमा बी पोजिटिभ रगत चढाउँदा सुत्केरीको मृत्यु

श्रावण २३, २०७७ | धनुषा

– जनकपुरस्थित रामजानकी अस्पतालमा फरक समूहको रगत चढाउँदा सुत्केरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार गलत रगत चढाएकै कारण महोत्तरी गौशाला नगरपालिका ११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको ज्यान गएको परिवारको दाबी छ । ओ पोजिटिभ ब्लड ग्रुपको साटो बी पोजिटिभ ब्लड चढाउँदा गएराती गंगादेवीको मृत्यु भएको बताइएकोछ । अस्पताल र रेडक्रसको लापरबाहीले सुत्केरीको ज्यान गएको परिवारको दाबी छ ।

व्यथा लागेपछि हिजो अपराह्न ४ बजे उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अप्रेसनमार्फत गंगादेवीले छोरी जन्माएपछि शरीरमा रगत अभाव भएको थियो । अस्पतालले सुत्केरीको रगत स्याम्पलसहित रगत लिन आफन्तलाई रेडक्रसमा पठाएको थियो । रेडक्रसले दिएको दुईपोका रगत चढाएपछि सुत्केरी झनै सिकिस्त हुँदा जाँच गरेपछि ओ पोजिटिभको ठाउँमा बी पोजेटिभ रगत चढेको पत्ता लागेको थियो । अस्पतालले भने अनुसार नै स्याम्पल लिएर रेडक्रसबाट रगत ल्याएको र त्यहीमध्ये एउटा पोका रगत अस्पतालले चढाएकाले श्रीमतीको मृत्यु भएको भन्दै मृतकका श्रीमान राजेश महतोले अस्पताल र रेडक्रसलाई कारबाहीको माग गर्नु भएको छ ।

दोषी अस्पताल र रेडक्रसलाई कारबाही र क्षतिपूर्ति नदिएसम्म श्रीमतीको शव नठाउने महतोको अडान छ । यता अस्पताल प्रशासनले रेडक्रसको लापरबाहीले सुत्केरीको शरीरमा ओ पोजिटिभ को ठाउँमा बी पोजिटिभ चढेको दाबी गरेको छ । अस्पतालका सञ्चालक गणेश साहले अस्पतालले पठाएको स्याम्पल अनुसार रेडक्रसले रगत दिएको र त्यही चढाएकाले यसमा अस्पतालको कुनै लापरबाही नभएको दाबी गर्नु भएको छ ।

महिलाको मृत्युपछि उपचारमा संलग्न चिकित्सक र अन्य कर्मचारीलाई जिल्ला प्रहरीमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो । 


प्रतिक्रिया