कोशी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

भाद्र १, २०७७ | मोरङ

कोरोना भाइरसको संक्रमणबाट विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा उपचाररत थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ का ४७ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार साँझ ५ बजे मृत्यु भएको हो । 

खोकी र ज्वरो आएर आइतबार साँझ अस्पतालमा भर्ना भएका उनको फोक्सोमा समस्या रहेको कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिडेण्टेण्ट डा. चुमनलाल दासले बताउनुभयो ।

उनी अस्पताल भर्ना भएपछि स्वाब संकलन गर्दा सोमबार बिहान पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । उनीसँगै महानगरमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८ पुगेको छ । 

महानगरमा आइतबार २९ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५ सय ९५ पुगेको छ । जसमा ७६ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् भने आइसोलेसनमा शय्या अभावले ३ सय जना होम आइसोलेसनमा बस्न बाध्य छन् ।

प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना संक्रमित थपिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

यस्तै, झापाको दमकका ४ पुरुष, शिवसताक्षीका २ र कनकाईका १ पुरुष र जनकपुरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा संक्रमितको संख्या २ हजार ९२ पुगेको छ । यस प्रदेशमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ११ पुगेको छ । 

गोठगाउँस्थित कोभिड १९ आईसोलेसन अस्पतालबाट १७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, कोभिड–१९ आईसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरबाट १ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका हुन् । 

कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या यस प्रदेशमा १ हजार ९९ रहेको मन्त्रालयले उल्लेख गरेको छ । यस प्रदेशमा सोमबार सम्ममा ६७ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ । 


प्रतिक्रिया