कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

आश्विन १२, २०७७ | काठमाडौं

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा गौतमले २ जना महिला र २ जना पुरुषको मृत्यु भएको जानकारी गराउनु भएको थियो । सो पछि झापा, चितवन, जाजरकोट, महोत्तरी र कैलालीमा थप ५ जनाको मृत्यु भएको हो ।

डा.गौतमका अनुसार, कोरोना संक्रमणबाट सुनसरीका ३८ वर्षीया र भक्तपुरका ५१ वर्षीया महिला तथा बाँकेका ४७ वर्षीय र गुल्मीका ३४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यस्तै विराटनगरस्थित नोबेल अस्पतालको आइसोलेसनमा उपचारका क्रममा झापा गौरादह नगरपालिकाका ५२ वर्षीय पुरुषको आज मृत्यु भएको हो । उनमा मधुमेह र उच्च रक्तचाप थियो ।

संक्रमणबाटै चितवनको भरतपुर महानगरपालिका–७ का ५५ वर्षीय पुरुषको ज्यान गएको हो । उनी मिर्गौला रोगी थिए ।

सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा कैलालीको धनगढी उपमहानगरपालिका–१ निवासी ६३ वर्षीया महिलाको मृत्यु भएको छ । मुटु र श्वासप्रश्वासमा समस्या देखिएपछि असोज ७ गते अस्पताल भर्ना भएकी उनको आईसीयूमा राखेर उपचार भईरहेको थियो ।

यस्तै होम आइसोलेसनमा बस्दै आएकी जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ की ७६ वर्षीया वृद्धाको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट पर्साको जगरनाथपुर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत महोत्तरीका ५८ वर्षीय स्वास्थ्यकर्मीको उपचारको क्रममा काठमाडौंको बुढानिलकण्ठस्थित करुणा अस्पतालमा मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८६ जना पुगेको छ ।


प्रतिक्रिया