भाक्का खाने पर्व

पुस २९, २०७७ | झापा

झापामा मंगलबारदेखि चिसो ह्वात्तै बढेको छ । ज्याकेट छोड्न सक्ने अवस्था छैन । तर, बुधबार बिहान बिर्तामोडमा राजवंशी युवतीहरु एकसरो पेटानी (राजवंशी जातिको जातीय पहिरन) मा मात्र देखा परे । कपडाले पौष मसान्तको चिसो त छेकेको थिएन । तर, तात्तातो भाक्का (भक्का), माछा, आलु–भान्टाको तरकारी, टमाटरको अचार र चिया पिउदै/खादै बसेका उनीहरुलाई चिसोको कुनै पर्वाह थिएन ।

बुधबार झापाका राजवंशी जातिले चौथो राष्ट्रिय भाक्का दिवस मनाएका छन् । बिर्तामोडको सिटी सेन्टरमा करिब तीन हजार मानिस आपसमा हर्षोल्लासकासाथ बिहान ७ देखि मध्यान्ह १२ बजेसम्म भाक्का (भक्का), माछा, आलु–भान्टाको तरकारी, टमाटरको अचार र चिया पिउदै/खादै भाक्का दिवस मनाएका हुन् । कार्याक्रम कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिले आयोजना गरेको थियो ।

‘यसरी सामूहिक भाक्का खानले कार्यक्रमले हामी नयाँ पुस्तालाई उत्साहीत बनाएको छ’ बिराटनगरकी सपना राजवंशीले भनिन । शिक्षक कुबेरप्रसाद राजवंशीले भाक्कालाई राष्ट्रिय परिकारकै रुपमा विकास गर्नुपर्ने माग राखे । ‘विशुद्ध चामलको मात्र बनाइने भाक्कामा कुनै मिसावट छैन । स्वादिष्ट र अग्र्यानिक भएकाले यो परिकारलाई नेपालीहरुको साझा परिकारको रुपमा विकास गर्न जरुरी छ’ उनले भने ।

कार्यक्रमका प्रमुख अतिथि एवं राजवंशी इतिहासकार फूलसिंह राजवंशीले भाक्काले पूर्वी तराईमा साँस्कृतिक सद्भाव जोड्ने काम गरेको भनाई राखे । ‘भाक्काले स्वाद र भोक मात्र मेटाएको छैन । यसले सबै जाति समुदायबीच सद्भाव जगाउन काम गरेको छ’ उनले भने । पछिल्लो समय भाक्का पूर्वी तराईका जिल्लाहरुमा मौसमी व्यवसाय समेत बनेको छ । हिउदका ६ महिना बिहान–बेलुका चोक बजारमा भाक्का बेचेर विपन्न वर्गका महिलाहरुले परिवारको खर्च जुटाउने गरेको कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले भने । भाक्का राजवंशी समुदायको परम्परागत खाना परिकार हो । यसको संरक्षण र प्रवद्र्धनका लागि विगत चार बर्षदेखि पौष २९ गतेलाई राष्ट्रिय भाक्का दिवसको रुपमा मनाउदै आएको राजवंशीले बताए ।

भाक्कालाई प्रवद्र्धन गर्न सके भारतीय मेनुको ‘इट्ली’ लाई बिर्साउने ग्लोबल नेप्लिज सेफ फेडेरेशनका महासचिव मोहन गजुरेलले भने । उनले भाक्कालाई नेपाली थालीको रुपमा विकास गर्ने पहल भइरहेको बताए । ‘थोरै लगानी र समयमा स्वादिष्ट र अग्र्यानिक परिकारका रुपमा भाक्का बनाउन सकिने भएकाले भौगोलिक विविधता भएको हाम्रो मुलुकका लागि भाक्का पूर्ण स्वास्थ्यकर र सस्तो खाना बन्न सक्छ’ उनले भने ।

भाक्का शुद्ध चामलको पीठोबाट बनाइन्छ । मात्राअनुसार चामललाई करिब दुई घण्टासम्म पानिमा भिजाउनुपर्छ । पानीबाट निकालेर थिग्राउनुपर्छ । ओखली, ढिकी वा मिलमा कुट्नुपर्छ । पीठोलाई मसिनो चाल्नीले चाल्नुपर्छ । त्यसपछि थोरै पानी हालेर मुछ्नुपर्छ । पानीले मुछेर पीठोलाई नरम बनाउनुपर्छ । त्यसपछि एउटा भाडामा पानी उमाल्नुपर्छ । भाडामाथि माटोबाट बनाइएको दुलो परेको ढकन राख्नुपर्छ । उक्त ढकनलाई भाडाभित्रको बाफ कतैबाट ननिस्किनेगरी राख्नुपर्छ । उम्लिएको पानीबाट निस्किने बाफमाथि भाक्का बनाइने गरिन्छ । पानीले मुछेर नरम बनाएको पीठोलाई बटुकामा हालेर नरम सुतीको कपडाले बेरेर बाफ निस्किदै गरेको ढकनमा राखेपनि भाक्का पाक्छ । बाफमा भाक्का पाक्न दुई मिनेट लाग्छ । 


प्रतिक्रिया