कतै तपाई नक्कली डाक्टरको सल्लाह त मानिरहनुभएको छैन ?

जेष्ठ १७, २०८३

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले गैरकानुनी रूपमा डाक्टर उपाधि प्रयोग गर्नेलाई तीन वर्षसम्म जेल र तीन हजार रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरेको छ । काउन्सिलले जेठ ७ गते एक सूचना जारी गर्दै १५ दिनभित्र अवैध रूपमा डाक्टर उपाधि प्रयोग गर्नेले नामबाट सो उपाधि नहटाए कारबाही गर्ने चेतावनी दिएको हो । काउन्सिलले गैरकानुनी रुपमा डाक्टरको उपाधि प्रयोग गर्ने र औषधी सिफारिस गर्नेमाथि अनुगमन गर्ने समेत जनाएको छ । काउन्सिलले कसलाई डाक्टर उपाधि प्रयोग गर्न किन रोक लगाएको हो भन्ने लगायत बिषयमा चर्चा गरिएको छ ।

डाक्टर केवल उपाधि मात्र होइन, यसले जिम्मेवारीको गहन अर्थ बोकेको छ । यो शब्द उच्चारण गर्न जति सहज छ, त्यति नै यसले गाम्र्भीयता देखाउँछ । कसैले डाक्टर भनेर चिनाउने बित्तिकै समाजमा उसले पाउने मान, सम्मान र प्रतिष्ठा नै बेग्लै हुन्छ । अझ नेपाली समाजमा अन्य पेशाको दाँजोमा डाक्टरको स्तर निकै माथि छ । कतिसम्म भने आजभोलि विवाहको निम्तो कार्डमा यदि वर बधु आधुनिक चिकित्सामा आबद्ध छन् भने डाक्टर भनेर लेख्ने चलन बढ्दै गएको छ । विवाह स्थलको प्रवेशद्धारमा समेत डाक्टरको विवाह भन्ने जानकारी दिएर लेखिएको कयौँ उदाहरण भेटिन्छन् ।

विश्वव्यापी प्रचलन अनुसार अहिले डाक्टरको उपाधि प्रायः दुई क्षेत्रमा प्रयोगमा हुँदै आएको छ ।

पहिला चर्चा गरौँ बिरामीको उपचार गर्ने डाक्टरको । बिरामीको लागि डाक्टर सबथोक हो भनिन्छ । त्यसैले कुनै व्यक्तिले घर परिवारका सदस्यले भनेको नमानेपनि डाक्टरले दिएको सल्लाह भने मान्ने गर्दछन् । कतिपय मृत्युकै मुखमा पुगेकालाई डाक्टरले जीवन दान दिलाएपछि ती डाक्टर भगवानभन्दा कम छैनन् भनेर चर्चा गर्ने गरिन्छ । आधुनिक चिकित्सामा प्रयोग गरिने डाक्टर उपाधि अहिले समयक्रमसँगै बेला बखत बदनामी हुने गरेको छ । डाक्टरको उपाधिको दुरुपयोग र गैरकानुनी रुपमा बिरामीको उपचार पद्धतिमा संलग्न भएको धेरै गुनासो आउन थालेपछि जेठ ७ गते नेपाल मेडिकल काउन्सिलले सूचना जारी ग¥यो । नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार चिकित्सकीय अभ्यास गर्ने अधिकार काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्र रहेको काउन्सिलले बताएको हो । काउन्सिलको सूचनाबारे जानकारी दिँदै रजिष्टार डा दिपेन्द्र पाण्डेले २०२० को ऐनले नै डाक्टर कसलाई भन्ने भनेर तोकिसकेको र काउन्सिलबाट लाइसेन्स नलिएकालाई कारबाहीको दायरमा ल्याउने बताएका हुन् ।

डाक्टरको परिभाषा काउन्सिलले स्पष्ट पारेपनि त्यसको दुरुपयोग हुन थालेपछि काउन्सिलले कारबाही अघि बढाएको छ । खासगरी, डाक्टर भन्दै आधुनिक चिकित्सा शिक्षामा कुनै संलग्नता नभएकै व्यक्तिले समेत उपचार गर्दै हिँड्न थालेपछि काउन्सिलले त्यसलाई रोक्ने तयारी गरेको हो । काउन्सिलका अनुसार त्यहाँ परेका उजुरीमध्ये नक्कली डाक्टर र गैरकानुनी रुपमा डाक्टरी पेशामा संलग्न भएका २० देखि ३० प्रतिशत उजुरी छन् । जसमा काउन्सिलले सूचना जारी भएको दुई सातापछि शून्य सहनशीलताको नीति लिँदै कारबाहीमा उत्रने जनाएको छ । काउन्सिल कारबाहीमा आउनुको औचित्यबारे डा पाण्डे भन्छन्, “आधुनिक चिकित्सा नपढेका र यो पेशाको बारेमा कुनै जानकारी समेत नभएका मानिसहरु बिरामी जाँच्ने र औषधी दिने जस्ता कार्यमा संलग्न भएको पाइएको छ । कतिपयले यस्तो गरेको सामाजिक सञ्जालमै भेटिएको छ ।”

यो त भयो, उपचार गर्ने चिकित्सकक डाक्टरको विषय । अब चर्चा गरौँ विद्यावारिधि गरेपछि लेखिने डाक्टर उपाधिको बारेमा । विश्वविद्यालय शिक्षाको उच्च शिक्षामा पुगेपछि विद्यावारिधि गरेपछि डाक्टर लेख्ने चलन छ । यो विश्वव्यापी मान्यता हो । डक्टर शब्द ल्याटिनको डक्सेरबाट आएको हो । जसको शाब्दिक अर्थ सिकाउनु भन्ने हुन्छ । काठमाडौंको वानेश्वरस्गित इन्स्टीच्यूट अफ एडभान्स्ड कम्युनिकेसन, एजुकेशन एण्ड रिसर्च आईएसरका प्राध्यापक अर्जुन पौडेलका अनुसार डाक्टरको प्रयोग मध्य युगमा युरोपबाट सुरु भएको हो । उनी भन्छन्, “एकेडेमिक क्षेत्रमा उच्च शिक्षाको सबैभन्दा माथिल्लो शैक्षिक योग्यता हासिल गरेपछि पाइने उपाधिलाई डाक्टर भनिन्छ । चिकित्सा क्षेत्रमा भनिने डाक्टरले स्नातक मात्र गरेका हुन्छन् ।”

त्यसो त १२ र १३ औँ शताब्दिमा बोलोग्ना, पेरिस र अक्सफोर्ड विश्वविद्यालयले डक्टर अफ थियोलोजी, डक्टर अफ ल, डक्टर अफ मेडिसिन र डक्टर अफ फिलोसोफीको अध्ययन गरेका विद्वानलाई डाक्टर उपाधि दिने प्रचलन थियो । त्यहाँ चिकित्सकले नभई उच्चतम स्तरको शैक्षिक योग्यता हासिल गरेका विद्वानहरूको लागि डक्टरेट भन्ने शब्द प्रयोग गरिन्थ्यो । त्यसैले चिकित्सा क्षेत्र पनि एउटा विषय थियो, जुन पढेपछि डाक्टर बन्न सकिन्थ्यो । तर अन्य विषयको जस्तो यसमा पाइने डाक्टर विशेष थिएन । चिकित्सा क्षेत्रमा डाक्टर शब्द निकै पछि भित्रिएको हो । १९ औँ शताब्दिको सुरुमा आधुनिक चिकित्सा पेशामा लागेका व्यक्तिहरुले विश्वविद्यालयमा विद्यावारिधि नगरेपनि जनमानसमा विश्वास बढाउन र आधुनिक चिकित्सा अध्ययन नगरी परम्परागत बिरामी हेर्नेभन्दा पृथक देखिन डाक्टर शब्दको प्रयोग गरिएको थियो । यस्तै, आज पनि डक्टरेट अर्थात् डक्टर अफ फिलोसोपि –पीएचडी उच्चतम शैक्षिक योग्यता मानिन्छ । यो उपाधि भौतिक विज्ञानदेखि दर्शनशास्त्रसम्मका क्षेत्रहरूमा उच्चतम शिक्षा हासिल गर्नेलाई विशेषज्ञता र ज्ञानको योगदानको आधारमा प्रदान गरिन्छ । तर, पछिल्लो समय पिचडीको उपाधिको समेत दूरुपयोग हुने गरेको पाइन्छ । 


प्रतिक्रिया