फिफा विश्वकप २०२६ सुरु हुन २३ दिन बाँकी

जेष्ठ ५, २०८३ | काठमाडौं

विश्व फुटबलको महाकुम्भ सुरु हुन अब २३ दिन बाँकी छ । अन्र्तराष्ट्रिय फुटबल महासंघ फिफाले हरेक ४÷४ वर्षमा आयोजना गर्दै आएको विश्वकप यसपटकको धेरै हिसाबले ऐतिहासिक मानिएको छ । पहिलो पटक ३ देशमा आयोजना हुने विश्वकपमा यसपटक सर्वाधिक ४८ राष्ट्र सहभागी हुँदै गर्दा, ४ राष्ट्रले डेब्यु गर्दैछन् ।

अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा आयोजना हुने फुटबलको महाकुम्भ विश्वकप यहि जेठ २९ देखि साउन ३ गतेसम्म सञ्चालन हुँदैछ । २३ औं संस्करणको विश्वकप अन्तर्गतका खेलहरु अमेरिकाका ११ शहर, मेक्सिकोका ३ र क्यानडाका २ सहरमा हुनेछन् ।

सन् २००२ पछि पहिलोपटक दुईभन्दा बढी देशको संयुक्त आयोजनामा विश्वकप फुटबल हुन लागेको हो । सन् २०२६ को विश्वकपमा रहेका तीन आयोजक राष्ट्रमध्ये मेक्सिको विश्वकप तीन पटक आयोजना गर्ने पहिलो मुलुक बन्ने छ ।

सन् १९८६ र २०२२ मा सहभागी भइसकेको क्यानडाले पहिलोपटक विश्वकपको सहआयोजना गर्न लागेको हो भने अमेरिकाले यसअघि सन् १९९४ मा विश्वकप आयोजना गरिसकेको छ । विश्वकपको उद्घाटन खेल मेक्सिको सिटीस्थित एस्टाडियो एज्टेका रंगशालामा हुनेछ भने फाइनल खेल अमेरिकाको न्यूयोर्कस्थित मेटलाइफ रंगशालामा हुनेछ ।

फिफाले पहिलोपटक विश्वकपलाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने उद्देश्यसहित सहभागी राष्ट्रको संख्या बढाएर ४८ पु¥याएको छ । अघिल्ला संस्करणसम्म ३२ राष्ट्रले सहभागिता जनाउँदै आएकामा यसपटकदेखि सहभागी संख्या ४८ पु¥याइएको हो ।

सन् १९९८ को फ्रान्स विश्वकपदेखि सन् २०२२ को कतार विश्वकपसम्म ३२ देशले प्रतिस्पर्धा गरे भने यसअघि सन् १९८२ स्पेन विश्वकपदेखि सन् १९९४ अमेरिका विश्वकपसम्म २४ देशबीच प्रतिस्पर्धा हुने गर्दथ्यो । त्यसअघि सन् १९३० मा उरुग्वेको मन्टेभिडियोमा भएको पहिलो विश्वकपदेखि सन् १९७८ मा अर्जेन्टिनामा भएको ११औँ विश्वकपसम्म १६÷१६ देशले प्रतिस्पर्धा गरेका थिए । पहिलो विश्वकपमा एसियाबाट जापान, थाइल्यान्ड र इजिप्ट सहभागी नभएका कारण १३ देश मात्र सहभागी भए ।

यस्तै, सन् १९३८ को दोस्रो विश्वकपमा अस्ट्रेलिया सहभागी नभएपछि १५ देशले विश्वकप खेले । सन् १९५० मा ब्राजिलमा भएको विश्वकपमा भारत, स्कटल्यान्ड र फ्रान्स सहभागी नभएपछि १३ देशबीच प्रतिस्पर्धा भयो । त्यसपछि सन् १९५४ मा स्वीट्जरल्यान्डमा भएको पाँचौँ विश्वकपदेखि सन् १९७८ सम्म भने १६ देशले नै फाइनल चरणमा प्रतिस्पर्धा गरे ।

विश्वकपको फाइनल चरणमा अफ्रिकी राष्ट्र केप भेर्डे, क्यारेबियन राष्ट्र कुराकाओ तथा एसियाली देश जोर्डन र उज्वेकिस्तानले पहिलोपटक स्थान बनाएका छन् । केप भेर्डेले अफ्रिकी छनोटमा क्यामरुनलाई हराउँदै विश्वकपमा स्थान बनाएको हो ।

कुराकाओले जमैका, बर्मुडा र हाइटीजस्ता टोलीलाई पछि पार्दै विश्वकप यात्रा तय ग¥यो । जोर्डनले ओमानलाई ३–० ले हराउँदै पहिलोपटक विश्वकपमा छनोट भएको इतिहास रच्यो । उज्वेकिस्तानले पनि लामो प्रयासपछि पहिलोपटक विश्वकपमा स्थान सुरक्षित गरेको हो । तर, चारपटकको विश्वविजेता इटाली लगातार तेस्रोपटक विश्वकपमा पुग्न असफल भयो ।

युरोपियन छनोटको प्लेअफ फाइनलमा बोस्निया–हर्जगोभिनासँग पराजित हुँदै इटाली विश्वकपबाट बाहिरिएको हो । विश्वकप इतिहासमा ब्राजिलपछि सबैभन्दा सफल टोली मानिने इटालीले १८ संस्करणमा सहभागिता जनाएको छ । सन् २००६ मा चौथोपटक विश्वकप जितेपछि इटाली सन् २०१० र २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो ।

त्यसपछि लगातार तीन संस्करणमा विश्वकपमा छनोट हुन नसक्नु इटाली फुटबलका लागि ठूलो धक्का मानिएको छ । इटाली मात्र नभई विश्वकपमा बलियो उपस्थिति जनाउँदै आएका पोल्यान्ड, डेनमार्क, चिली, क्यामरुन र नाइजेरियाजस्ता शक्तिशाली राष्ट्र पनि यसपटक सहभागी हुने छैनन् । कङ्गो र हाइटी ५२ वर्षपछि विश्वकप खेल्दै छन् ।

इराक ४० वर्षपछि विश्वकपमा फर्किएको छ भने बोस्निया–हर्जगोभिना र इरानले पनि विश्वकपमा आफ्नो उपस्थिति जनाउँदैछन् । अस्ट्रिया, नर्वे र स्कटल्यान्डले सन् १९९८ पछि पहिलोपटक विश्वकपको फाइनल चरणमा प्रतिस्पर्धा गर्दैछन् ।

यसपटक कुल ४८ राष्ट्रलाई १२ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा चार–चार टोली रहेका छन् । समूह ‘ए’ मा आयोजक मेक्सिकोसँगै दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिक रहेका छन् । समूह ‘बी’ मा आयोजक क्यानडा, बोस्निया–हर्जगोभिना, कतार र स्वीट्जरल्यान्ड छन् । समूह ‘सी’ मा ब्राजिल, मोरक्को, हाइटी र स्कटल्यान्ड छन् भने समूह ‘डी’ मा आयोजक अमेरिका, पाराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन् ।

समूह ‘ई’ मा जर्मनी, कुराकाओ, आइभरी कोस्ट र इक्वेडर रहेका छन् । समूह ‘एफ’ मा नेदरल्यान्ड्स, जापान, स्वीडेन र ट्युनिसिया छन् भने समूह ‘जी’ मा बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड रहेका छन् । समूह ‘एच’ मा स्पेन, उरुग्वे, साउदी अरेबिया र केप भेर्डे छन् । समूह ‘आई’ मा साविक उपविजेता फ्रान्स, सेनेगल, इराक र नर्वे छन् ।

समूह ‘जे’ मा साविक विजेता अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन रहेका छन् । समूह ‘के’ मा पोर्चुगल, कंगो, उज्वेकिस्तान र कोलम्बिया छन् भने समूह ‘एल’ मा इङ्गल्यान्ड, क्रोएसिया, घाना र पानामा छन् ।

विश्वकपमा सहभागी राष्ट्रको देशको संख्या बढेसँगै खेलको संख्या पनि बढेको छ । ३९ दिनसम्म चल्ने प्रतियोगितामा कुल १ सय ४ खेल हुनेछन् । समूह चरणका खेलहरु जेठ २८ गतेदेखि असार १३ गतेसम्म सञ्चालन हुनेछन् । प्रत्येक समूहका शीर्ष दुई टोली र उत्कृष्ट आठ तेस्रो स्थान प्राप्त टोली गरी ३२ टोली राउन्ड अफ ३२ मा प्रवेश गर्नेछन् ।

राउन्ड अफ ३२ का खेल असार १४ गतेदेखि असार १९ गतेसम्म हुनेछ । त्यसपछि प्रि–क्वार्टरफाइनल, क्वार्टरफाइनल, सेमिफाइनल हुँदै फाइनल खेलाइनेछ । राउन्ड अफ १६ का खेल असार २० देखि असार २३ गतेसम्म हुनेछ भने क्वार्टरफाइनल असार २५ देखि २७ गतेसम्म हुनेछ । सेमिफाइनल असार ३० र ३१ गते हुनेछ । तेस्रो स्थानका लागि साउन २ गते प्रतिस्पर्धा हुनेछ भने फाइनल खेल साउन ३ गते हुनेछ । साविक विजेता अर्जेन्टिना हो ।

फिफाले विश्वकपको समूह चरणको टिकट मूल्य ३ सय डलर तोकिएको छ भने फाइनल खेलको सामान्य टिकट मूल्य १० हजार ९ सय ९० डलर तोकिएको छ । यसअघि कतार विश्वकपको फाइनल टिकट मूल्य करिब १२ सय डलर मात्र थियो ।

विश्वकपमा सबैभन्दा बढी युरोपियन क्षेत्रबाट १६, अफ्रिकी क्षेत्रबाट १०, एशिया क्षेत्रबाट ९, उत्तरमध्ये र क्यारेवियन क्षेत्रबाट ६ दक्षिण अमेरिकी क्षेत्रबाट ६ र ओसेनिया क्षेत्रबाट १ गरी ४८ राष्ट्रले सहभागिता जनाउँदैछन् ।

एसियाबाट अष्ट्रेलिया, इरान, इराक, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्वेकिस्तानले विश्वकपमा सहभागिता जनाउँदैछन् । युरोपबाट अष्ट्रिया, बेल्जियम, बोस्नीया हर्जगोविना, क्रोयसिया, चेक रिपब्लिक, इङ्गल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, नर्वे, पोर्चुगल, स्कटल्याण्ड, स्पेन, स्वीडेन, स्वीजरल्याण्ड र टर्कीले भाग लिँदैछन् ।

अफ्रिकाबाट अल्जेरिया, केप भेर्डे, डिआर कङ्गो, इजिप्ट, घाना, आइभरी कोष्ट, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका र ट्युनेसिया गरी १० देशले विश्वकपमा सहभागिता जनाउँदैछन् । दक्षिण अमेरिकी क्षेत्रबाट साविक विजेता अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, पाराग्वे र उरुग्वे गरी छ देशले विश्वकपमा खेल्दैछन् ।

उत्तरी, मध्यअमेरिका तथा क्यारेवियन क्षेत्रबाट क्यानडा, मेक्सिको, अमेरिका, पानामा, कुराकाओ र हाइटीले प्रतिस्पर्धा गर्दैछन् । जसमा क्यानडा, मेक्सिको र अमेरिका आयोजक हुन् भने पानामा, कुराकाओ र हाइटीले छनोटको तेस्रो राउण्डको समूह विजेताका रुपमा विश्वकपमा छनोट भएका हुन् । यस्तै ओसेनिया क्षेत्रबाट न्युजिल्याण्डले विश्वकपमा सहभागिता जनाउँदैछ ।

एशियाली छनौटको तेस्रो चरणमा रहेका तीन वटा समूहका विजेता र उपविजेता गरी ६ देश इरान, उज्वेकिस्तान, दक्षिण कोरिया, जोर्डन, जापान र अष्ट्रेलिया सोझै विश्वकपमा छनोट भएका हुन् । बाँकी २ देश कतार र साउदी अरेबिया तीन समूहका उत्कृष्ट तेस्रो र चौथो हुने देशबीच दुई समूह विभाजन गर्दै भएको प्रतिस्पर्धाबाट समूह विजेता विश्वकपमा छनोट भएका हुन् । यसैगरी सो दुई समूहका दोस्रो हुने टोलीबीच प्रतिस्पर्धा गर्दै इराकलाई अन्र्तरमहादेशीय छनोट खेल्ने अवसर मिल्यो ।

युएईलाई हराउँदै अन्तर महादेशीय प्लेअफ खेलेको इराकले कन्काफ र दक्षिण अमेरिकी क्षेत्रबाट प्लेअफमा आएका बोलेभिया र सुरीनामलाई पन्छाउँदै विश्वकपमा स्थान पक्का गरेको थियो ।

विश्वकप फुटबलको प्रारम्भिक छनोटमा लाओस्लाई समग्रमा २–१ ले हराउँदै नेपालले अर्को चरणमा प्रवेश पाएको थियो । सो चरणमा युएई, बहराइन र यमनसँग २–२ पटक प्रतिस्पर्धा गरेको नेपालले यमनसँग एउटा खेलमा २–२ को बराबरी गर्नबाहेक अन्य सबै खेलमा नेपाल पराजित भएको थियो ।

सन् १९३८ मा फ्रान्समा भएको विश्वकपमा एशियाली क्षेत्रबाट छनोट भएर प्रतिस्पर्धा गर्ने सबैभन्दा पहिलो देश इण्डोनेसिया हो । यस्तै, सन् १९५० को विश्वकपमा भारत छनोट भएपनि कारणवश सहभागी भएन । यसपछि दक्षिण कोरियाले सन् १९५४ मा, सन् १९७४ मा अष्ट्रेलिया र लगत्तै चार वर्षपछि इरान सहभागी भयो ।

यस्तै, सन् १९८६ र १९९० मा दक्षिण कोरियाले, सन् १९९४ मा साउदी अरब पहिलोपटक सहभागी हुँदा, दक्षिण कोरियाले निरन्तरता पायो । सन् १९९८ देखि प्रत्येक विश्वकपमा कम्तिमा चार टिम पुग्नेनियम बनाइसक्यो । दक्षिण कोरियालले १३औँ पटक विश्वकपमा सहभागिता जनाउँदै गर्दा जापान र साउदी अरेबियाले सातौँ पटक प्रतिस्पर्धा गर्दैछ ।

अष्ट्रेलिया र इरानले ६÷६ पटक विश्वकप खेल्दा, कतार र इराकले अहिलेसम्म १÷१ पटक विश्वकप खेलेका छन् । जोर्डन र उज्वेकिस्तान पहिलोपटक विश्वकपमा प्रतिस्पर्धा गर्दैछन् ।

विश्वकपको उपाधि अहिलेसम्म ८ देशले मात्रै जितेका छन् । उपाधि सबैभन्दा बढी ब्राजिलले ५ पटक जित्दा, २ पटक उपविजेता बनेको छ । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकप जितेको छ । जर्मनी र इटालीले ४÷४ पटक विश्वकपको ट्रफी उचालेका छन् ।

जर्मनीले सन् १९५४, १९७४, १९९० र २०१४ मा विश्वकप जित्दा चारपटक नै उपविजेता बनेको छ । इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा विश्वकप जित्दा दुई पटक उपविजेता बनेको छ । अर्जेन्टिनाले सन् १९७८, १९८६ र २०२२ मा गरी तीनपटक विश्वकप जित्दा तीनपटक नै उपविजेता बनिसकेको छ । विश्वकप फुटबलको इतिहासमा फ्रान्स र उरुग्वेले २÷२ पटक विश्वकप जितेका छन् ।

उरुग्वेले पहिलो विश्वकप सन् १९३० र १९५० मा विश्वकप जित्दा फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप जित्दा दुई पटक नै फाइनलमा पराजित भयो । यसैगरी स्पेन र इङ्गल्याण्डले १÷१ पटक विश्वकप जितेका छन् ।

नेदरल्याण्ड्स तीन पटक उपविजेता बन्दै गर्दा हङ्गेरी र चेकोस्लाभियाले २÷२ पटक उपविजेता बनेका छन् । स्वीडेन र क्रोयसिया १÷१ पटक विश्वकपको उपविजेता बनिसकेका छन् ।

सन् १९३० मा पहिलो संस्करण भएको विश्वकपका २ संस्करण दोस्रो विश्वयुद्धका कारण आयोजना हुन सकेन । सन् १९४२ र १९४६ मा युद्धका कारण विश्वकप आयोजना नभएका हुन् ।


प्रतिक्रिया