नयाँ सरकार र पर्यटन दशकले जगाएको आश

पुस २३, २०७९ | काठमाडौं

कोरोना महामारी पश्चात् थलिएको मूलुकको पर्यटन क्षेत्रलाई अहिले आन्तरिक पर्यटकले टेको दिइरहेको छ । साथै, केही महिनायता विदेशी पर्यटक आउने क्रम समेत बढेपछि व्यवसायीमा केही उत्साह थपिदिएको छ । सरकारले पर्यटक दशक घोषणा गर्दैगर्दा नयाँ जनादेशपछि आएको सरकारसँग पर्यटन क्षेत्र आशावादी छ ।

कोरोनाले तहसनहस भएको पर्यटन क्षेत्रका उद्यमी र व्यवसायी अङ्ग्रेजी नयाँवर्ष २०२३ को आगमनसँगै पछिल्ला पर्यटक विहिन बर्षलाई भुल्न चाहान्छन् । सन् २०२२ मा मात्रै ६ लाख भन्दा बढी पर्यटक हवाई मार्ग हुदै नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ ।

सन् २०१९ को अन्त्यबाट देखिएको कोरोना कहरले थला परेपछि नेपालका पर्यटक नगरीहरुमा पर्यटक देखिन छाडेका थिए । सन् २०२० मा २ लाख ३० हजार मात्रै पर्यटक नेपाल भित्रिए । सो संख्या सन् २०१९ को भन्दा करिब ९ लाख ७० हजारले कम हो । त्यस्तै, सन् २०२१ को तुलनामा २०२२ मा ३ सय ७ प्रतिशतले बढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२१ मा करिब १ लाख ५० हजार पर्यटक नेपाल भित्रिएका थिए ।

पछिल्ला केही महिना पर्यटकको संख्या बढेको मात्रै छैन भर्खरै मात्र सरकारले पर्यटन दशक घोषणा गर्दै वार्षिक ३५ लाख पर्यटक ल्याउने महत्वकांक्षी योजना समेत सार्वजनिक गरेको छ । राजनीतिक स्थिरता कायम भएमा पर्यटकको संख्या अझ वृद्धि हुने नेपाल एजेन्सी अफ ट्राभल्स एण्ट टुर नाटाका अध्यक्ष रमेश थापा बताउनुहुन्छ । ‘सबैभन्दा ठुलो कुरा भनेको देशको राजनीतिक अवस्था स्थिर हुनुपर्‍यो । सरकार स्थिर भयो भने जुन हिसाबले कोभिडपछि अहिले एसियाका देशका भारत र दोस्रोमा बङगलादेशका पर्यटक नेपाल आइरहेका छन् र यूरोपियन पर्यटक पनि सिजन अनुसार आइरहेका छन् , पर्यटक वृद्धि हुदै जान्छन् र तीन वर्षमा जुन मात्रामा पर्यटकको वृद्धि हुनुपर्ने हो त्यो हुनेछ ’ उहाँले भनुभयो ।

पर्यटकको संख्यामा कमि आएसँगै विदेशी मुद्रा आर्जन ४६ प्रतिशतले घटेको छ । अहिले विदेशी मुद्रा आर्जन करिब १३ अर्बमा सिमित छ । पर्यटकको औसत प्रति पर्यटक खर्च ४८ अमेरिकी डलर छ । यसलाई प्रति पर्यटक प्रतिदिन खर्च १ सय २५ डलर पुर्‍याउने र देशको कुल ग्राहस्थ उत्पादनमा पर्यटनको योगदानलाई १० प्रतिशतसम्म पुर्‍याउने पर्यटक दशकको घोषणा गर्दै सरकारले लक्ष्य लिएको छ ।

बढी खर्च गर्न सक्ने पर्यटकलाई आकर्षित गर्न प्रचार गर्नुपर्ने नेपाल पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछाने बताउनुहुन्छ । ‘मार्केटिङ गर्दा पनि बढी भन्दा बढी पैसा खर्च गर्न सक्ने पर्यटक ल्याउनु पर्‍यो । पर्यटकलाई बेच्ने टुर प्याकेज पनि कतिपय ठाउँमा सस्तो छ, त्यसलाई गुस्तरीय प्याकेज बनाएर बेच्ने हो भने विस्तारै लक्ष्य सम्भव हुन्छ ।’ उहाँ भन्नुहुन्छ ‘अहिले हामी गुणस्तरीय भन्दा पनि संख्यात्मक हिसाबमा पर्यटक बढाउनु पर्छ भनेर प्रचारप्रसार गरिरहेका छौँ त्यसलाई गुणस्तरीय बनाउन तिर केन्द्रित हुनुपर्‍यो । ’

पर्यटक आवागमनको तुलना गर्ने रिकभरी रेट अहिले ६५ प्रतिशत रहेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । सन् २०२२ मा कूल ६ लाख पर्यटक भित्रिँदा सबै भन्दाबढी पर्यटक अक्टोबर महिनामा भित्रिएका छन् ।

अक्टोबर महिनामा मात्रै करिब ८८ हजार पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले उल्लेख गरेको छ । त्यस्तै नोभेम्बर महिनामा ७२ हजार पर्यटक नेपाल भित्रिए भने डिसेम्बर महिनामा ६७ हजार पर्यटक नेपाल आएका छन् । सो आकंडाले पर्यटन क्षेत्रमा सकारात्मक संकेत गरेको पर्यटन व्यवसायी बताउँछन् । नयाँ सरकारसँगै नयाँ अन्तर्राष्ट्रिय विमानस्थलले समेत उत्साह थपिदिएको पोखरा पर्यटक परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुहुन्छ । ‘नयाँ वर्ष, नयाँ विमानस्थल र नयाँ सरकार हामी एकदमै उत्साहित छौँ । यो नयाँ सरकारबाट हामी धेरै कुरामा आशावादी छौँ ।’ श्रेष्ठले भननुभयो ‘विदेशमा मात्रै ५० लाख नेपाली छन् । अब सरकारले १० लाख मात्र होइन ५० लाख पर्यटक नेपाल भित्राउन एक नेपाली एक पर्यटक अभियानमा ध्यान दिन जरुरी छ । यदी त्यसतर्फ ध्यान दिइयो भने ५० लाख पर्यटक भित्राउन सकिन्छ ।’

सन् २०२२ मा मात्रै दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको निमार्ण सम्पन्न भएसँगै पूर्वाधारमा पनि मुलुकले केही सफलता पाएको छ । त्यसैले पर्यटन क्षेत्रलाई चलायमान गर्न सरकारका नीतिलाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव व्यवसायीहरुले दिएका छन् । 


प्रतिक्रिया