वर्ष २०८१ मा महिला खेलाडी देखिए अब्बल

चैत्र ३०, २०८१ | काठमाडौं
वर्ष २०८१ नेपाली खेलकुदका लागि फलदायी रह्यो । यस वर्ष अब्बलताको परीक्षामा पुरुषको तुलनामा महिला खेलाडी खरो उत्रिए । पारा तेक्वान्दो, कराते र म्याराथनको व्यक्तिगत विधामा महिला खेलाडीले पदक जित्दा भलिबल र फुटबलमा महिलाले नै राम्रो नतिजा निकाले । यस्तै, घरेलुतर्फ क्रिकेटका गतिविधि चलायमान हुँदा, खेलाडीहरु व्यस्त नै रहे ।
२०८१ सालमा पेरिस पारालिम्पिकमा नेपालकी पलेशा गोबर्धनले कास्य पदक जितिन् । फ्रान्सको पेरिसमा आयोजित पारा ओलम्पिकमा तेक्वान्दोको के ४४ अन्तर्गत ५७ केजीमुति तौल समूहमा सर्बियाकी मारिया मिसेभलाई १५–८ स्कोरले हराएर पलेशाले कांस्य जित्दा नेपाली कीर्तिमान बन्यो । ओलम्पिक खेल्न थालेको ६ दशकमा नेपालले पहिलोपटक औपचारिक मेडल पारालिम्पिक्समा भित्रायो । पलेशाको नाममा रहेको सो पदक समग्र खेलप्रेमीका लागि अमूल्य छ ।
वर्ष ८१ मा नेपालले सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जित्यो । एसियन कराते फेडरेसनको आयोजनामा सम्पन्न एसियन च्याम्पियनसिपमा नेपालले पहिलो पदक जित्ने मौका पायो । २० औं एसिया सिनियर कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक एरिका गुरुङले जितिन् ।
हाङचाउस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा महिला ६८ केजीमाथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थी नुयेनसँग ६–० ले पराजित भएपछि एरिकाले रजतमा चित्त बुझाएकी हुन् । नेपाल पुलिस क्लबबाट कराते खेल्न सुरु गरेकी एरिका पहिलोपटक १९ औँ एसियाडमा छनोट भएकी थिइन् । गत वर्ष चीनमै सम्पन्न सो प्रतियोगितामा पनि उनले रजत पदक जितेकी थिइन् ।
अष्ट्रेलियामा भएको अस्ट्रेलियन ओपन कराँते च्याम्पियनसिपमा पनि एसिकाले स्वर्ण पदक जितिन् । सो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने पाँचै खेलाडीले पदक जित्न सफल भए । एरिकाले स्वर्ण जित्दा, सविना श्रेष्ठ, मुनी पुष्पका लामा, वर्षा बुढा मगर र सन्तोष श्रेष्ठले कास्य जिते ।
उता, हङकङमा भएको एक सय किलो मिटर अल्ट्रा म्याराथनको उपाधि जुम्लाकी सुनमाया बुढाले जितिन् । पातारासी गाउँपालिका २ पेर गाउँमा जन्मिएकी सुनमायाले एक सय किलोमिटर दुरुको म्याराथन ११ घण्टा ११ मिनेट ४७ सेकेण्डमा पूरा गरिन् । उनले स्लोभाकीयाकी भेरोनिका लेङलाई १४ मिनेट २५ सेकेण्डको अन्तरले उछिनेकी हुन् ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ बाट सम्मानित भइन् । राष्ट्रिय प्रजातन्त दिवसको अवसरमा सरकारले घोषणा गरेको पुरस्कारमा खेल क्षेत्रबाट साम्बा पुरस्कृत भएकी हुन् ।
नेपाल एपीएफ फुटबल क्लबमा आवद्ध साम्बा हाल फ्रान्सको एन एभान्ट गुएङग्याम्पमा आवद्ध छिन् । इजरायलको हापोयल रानानामा अनुबन्ध भएपछि साम्बा युरोपियन लिग खेल्ने पहिलो नेपाली महिला खेलाडी बनेकी थिइन् ।
सन् २०१४ देखि राष्ट्रिय टोलीमा आवद्ध साम्बा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । नेपालकी मात्र हैन दक्षिण एसियाकै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन् । गत वर्षको फागुनमा साउदीमा भएको वाफ महिला च्याम्पियनसिपमा लेबनानविरुद्ध नै गोल गर्दै साम्बाले भारतीय टोलीकी बालादेवीलाई पछि पार्दै दक्षिण एसियाकै सर्वाधिक गोलकर्ताको सुचीमा आफूलाई उभ्याएकी थिइन् ।
वर्ष २०८१ समग्र रुपमा क्रिकेटमय रह्यो । यहि वर्ष नेपालले १० वर्षपछि आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्यो । सन् २०१४ मा विश्वकप खेले पश्चात छनोट चरण पार गर्न नेपाललाई एक दशक लाग्यो ।
आईसीसीले हरेक दुई÷दुई वर्षमा आयोजना गर्ने टी–२० विश्वकप क्रिकेटको नवौं संस्करण वेष्टइन्डिज र संयुक्त राज्य अमेरिकामा यसैवर्षको जेठ २२ देखि असार १७ गतेसम्म संचालन भयो । विश्वकपमा नेपालले आफूभन्दा बलिया टिमसंग प्रतिस्पर्धा गर्दै अनुभव बटुल्यो ।
यस वर्ष नेपालमा क्रिकेटको जति चर्चा अन्य खेलको भएन । किन भने नेपाल क्रिकेट संघ क्यानले यसै वर्ष आयोजना गरेको नेपाल प्रिमियर लिगले घरेलु क्रिकेटको माहोल तात्यो । विश्व क्रिकेटमा नाम चलेका क्रिकेटरहरुको सहभागीताले यस प्रतियोगिताले अझ बढी चर्चा बटुल्यो । यस्तै, ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीहरुले उनीहरुसँग खेल्दै अनुभव बटुल्ने मौका पाए ।
८ टोली सहभागी पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जित्यो । एपीएपलबाट क्यानले आम्दानी पनि राम्रो गर्यो । स्टार स्पोर्ट्सलाई टेलिभिजन प्रसारण अधिकार दिएबापत र अन्य समग्र व्यवस्थापनमा खर्च गरेको प्रतियोगिताको प्रायोजनबाट पनि क्यानले राम्रो आम्दानी गर्यो । प्रतियोगिताले पाएको सफलताले गर्दा प्रतियोगिता र टीमको ब्रान्ड भ्यालु नै बढेको लगानीकर्ताको भनाई छ ।
नेपालले यस वर्ष पुरुष दृष्टिबिहिन टी–२० विश्वकप क्रिकेटमा पनि सहभागीता जनायो । लिग चरणमा श्रीलंका, बंगलादेश र पाकिस्तानसँग पराजित भएको नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानलाई भने हराएको थियो । दृष्टिविहिन विश्वकप क्रिकेटमा नेपाल सन् २०१२ देखि सहभागीता जनाउँदै आएको छ ।
पुरुषतर्फ नेपाललको युवा क्रिकेट टोली एसीसी यू–१९ एसिया कपमा सहभागी भयो । संयुक्त अरब इमिरेट्स युएईमा सम्पन्न प्रतियोगितामा एसियाका ८ देश सहभागी थिए । प्रतियोगितामा नेपालले उत्कृष्ट नतिजा भने हात पार्न सकेन ।
यस वर्ष नेपालले मलेसियामा भएको दोस्रो संस्करणको आईसीसी यू–१९ महिला टी–२० विश्वकप खेल्यो । नेपाली महिला टीमले कुनै पनि स्तरको विश्वकप खेलेको यो पहिलो पटक हो ।
पहिलो पटक सहभागीता जनाएको नेपालले समूह चरण पार गर्न सकेन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको आयोजनामा गत माघमा सम्पन्न विश्वकपमा नेपालसहित १६ देश सहभागी भए ।
यस्तै, एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले सुपर फोरमा स्थान बनायो । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ४ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । सुपर फोरको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएसँगै प्रतियोलिगताबाट बाहिरियो ।
यस्तै सिनियर तर्फ महिला त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज नेपालमा आयोजना भयो । नेपाल, थाइल्यान्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिजको उपाधि थाइल्यान्डले जित्यो ।
घरेलुतर्फ क्यानले आयोजना गरेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले जित्दा, प्रधानमन्त्री कप एकदीवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जित्न सफल भयो ।
क्रिकेटपछि अब नेपाली राष्ट्रिय फुटबलको कुरा गरौं,
यस वर्ष साफ महिला च्याम्पियनसिप फुटबलको सातौं संस्करण नेपालले आयोजना गर्यो । नेपालमा तेस्रो पटक आयोजना भएको प्रतियोगिता कात्र्तिक १४ गतेसम्म संचालन भयो ।
घरेलु भूमिमा भएको प्रतियोगितामा पहिलोपटक च्याम्पियन बन्ने अवसर नेपाललाई थियो । तर त्यसो हुन सकेन । फाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भयो । सन् २०२२ का भएको साफमा पनि नेपालले बंगलादेशसँगै हार व्यहोरेको थियो ।
यस्तै, काठमाडौंमा आयोजित चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा नेपाल दोस्रो भयो । नेपाल फाइनलमा म्यानमारसँग २–० ले पराजित भयो ।
यो हार अहिलेसम्म नेपालले पराजित भएको १३ औं फाइनल हो । नेपाल साफका ६ पटक, दक्षिण एसियाली खेलकुद सागमा ३ पटक तथा हिरो वुमन्स गोल्डकप, नादेज्दा कप, वाफ वुमन्स च्याम्पियनसिप र इन्टरनेसनल वुमन्स च्याम्पियनसिपमा एक÷एक पटक फाइनलमा पराजित भएको छ ।
अब नेपालले आगामी जुनमा एएफसी महिला एसियन कप २०२६ को छनोट खेल खेल्ने छ । छनोट चरणमा नेपाल रहेको समूह एफमा आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंका छन् ।
नेपालले हालसम्म उज्वेकिस्तानविरुद्ध खेलेको सबै ३ खेल हारेको छ । लाओसविरुद्ध हालसम्म नखेलेको नेपालले श्रीलंकामाथि भने सबै ८ खेलमा जितको नतिजा निकालेको छ । एसियन कप सन् २०२६ मार्चमा अष्ट्रेलियामा हुँदैछ ।
फुटबलमा पुरुषतर्फ एएफसी एसियन कप २०२७ को छनोट चरणमा अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भयो । सो खेल मलेसियाको जोहोर बारुस्थित सुल्तना इब्राहिम रंगशालामा भएको थियो । सो खेलअघि नेपालले सिंगापुरसँग खेलेको मैत्रीपूर्ण खेल १–० ले जितेको थियो ।
घरेलुतर्फ भने एन्फाले दुई वर्षपछि एन्फा महिला लिग आयोजना गर्यो । सो लिगको उपाधि नेपाल एपीएफ क्लबले जित्यो ।
वर्ष २०८१ मा नेपाली फुटबलले खासै राम्रो नतिजा हात पार्न सकेन । चेन्ज एन्फाको नारा लिएर पंकविक्रम नेम्वाङ्ग नेतृत्वमा अखिल नेपाल फुटबल संघको नयाँ समिति चुनिएको झन्डै तीन वर्ष हुन लागिसक्यो ।
तर, एन्फा फुटबल गतिविधि गर्न छोडेर आन्तरिक विवाद मै अल्झिरहेको छ । घरेलु लिग समेत नहुँदा खेलाडीमा निराशा छाएको छ । फुटबलबाट जीवन निर्वाह गर्न नसकिने भन्दै थुप्रै खेलाडी विदेशिएका छन् ।
यता, भलिबलतर्फ नेपालमा आयोजित काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्यो । घरेलु समर्थकका बीच पहिलो पटक उपाधि जित्ने सुनौलो मौका नेपाली टोलीले गुमायो । नेपालले लिग चरणमा भने भारतलाई हराएपनि फाइनलमा भने नेपाल पराजित हुन पुग्यो ।
उमेर समूहमा भने काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको डेब्यू सहभागीतामै नेपालले कास्य पदक जित्न सफल भयो । माल्दिभ्समा भएको खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएपछि कास्य मै चित्त बुझाउनु पर्यो ।
उता, श्रीलंकामा भएको काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल दोस्रो भयो । नेपालले फाइनलमा उज्वेकिस्तानसँग हार व्यहोर्यो ।
यस्तै, एभरेष्ट महिला भलिबल लिग प्रतियोगिताको पहिलो संस्करण काठमाडौंमा आयोजना भयो । ६ टोली सहभागी प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा खेलाइएको थियो । प्रतियोगिताको उपाधि भने कर्णाली यस्विसले जित्यो ।
वर्ष २०८१ मा नेपालमा पहिलो संस्करणको कबड्डी लिग आयोजना भयो । क्रिकेट, फुटबल र भलिबलपछि कबड्डीको लिग भएको हो । भलिबल औपचारिक रुपमै नेपालको राष्ट्रिय खेलका रुपमा सूचीकृत भएपछि कबड्डी नेपालको बोलीचालीको राष्ट्रिय खेलबाट पनि हराइसकेको छ । कबड्डीको पहिचान जोगाउन भन्दै एस्ट्रोनिक्स म्यानेजमेन्टले पहिलो संस्करणको लिग आयोजना गर्यो ।
जस्तो सुकै भुगोलमा पनि सजिलै खेल्न सकिने भएकाले पनि दक्षिण एसियामा कबड्डी लोकप्रिय छ । गत माघमा सम्पन्न ६ टोली सहभागी पहिलो संस्करणको लिगको उपाधि जनकपुर नाइट्सले जित्यो ।
वर्ष ८१ मा प्रथम खो खो विश्वकपमा नेपालको महिला र पुरुष दुवै टोलीले एतिहासिक उपलब्धि हासिल गर्यो । दुवै टोली उपविजेता बन्यो । कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल खेलेर फर्केको यो पहिलो पटक हो ।
भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्पोट्र्स कम्प्लेक्समा भएको प्रतियोगिताको फाइनलमा नेपालको दुवै टोली आयोजक भारतसँग पराजित भएपछि उपविजेतामा सिमित भएको थियो ।
उता, बंगलादेशमा आयोजित चौंथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बन्न सफल भयो । नेपली कबड्डी इतिहासमा पुरुष टोलीले पाएको यो सबैभन्दा ठूलो उपलब्धि हो ।
नेपाल फाइनलमा आयोजक बंगलादेशसँग ४५–३१ स्कोरले पराजित भएको थियो । अघिल्ला तीनै संस्करणको उपाधि पनि बंगलादेशले जितेको थियो ।
समग्रमा भन्नुपर्दा नेपाली खेलकुदका लागि वर्ष ०८१ राम्रो रह्यो । प्रशिक्षण र वैदेशिक एक्सपोजरका हिसाबले पनि खेलाडीहरु व्यस्त रहे । सोही अनुसारको नतिजा पनि आयो ।