को हुन नवनिर्वचित सभामुख घिमिरे !

माघ ५, २०७९ | काठमाडौं

प्रतिनिधिसभा निर्वाचनमा झापा–२ बाट निर्वाचित भएका सभामुख देवराज घिमिरे ६६ बर्षीय वामपन्थी नेता हुनुहुन्छ । झापा विद्रोहसँग जोडिदै राजनीतिमा होमिएका घिमिरे पहिलो पटकको संसदीय यात्रामै सभामुख बन्नुभएको हो ।

ताप्लेजुङ जिल्लाको सिरिजंघामा बुबा पदम प्रसाद घिमिरे र आमा भिमकुमारी घिमिरेको कोखबाट १२ जना छोराछोरीमध्ये माइलो छोराको रुपमा वि.सं. २०१३ साल जेठ १३ गते घिमिरेको जन्म भएको थियो । निम्न मध्मम परिवारमा जन्मिएका घिमिरेले गाउँकै सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षाको सुरुवात गरी ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाई स्कुलबाट वि.सं.२०२९ सालमा एस.एल.सी उत्तीर्ण गर्नुभएको थियो । उहाँले धरानको महेन्द्र बहुमुखी क्याप्पसबाट आई.ए. र त्रिचन्द्र क्याम्पस काठमाडौंमा स्नातक अध्ययन गर्नुभएको हो । वि.सं. २०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा रहनुभएका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिनुभएको हो । 

२०३३ सालमा आफ्नो शिक्षालाई थाती राखेर पार्टीको संगठन निर्माणमा खटिएका घिमिरेले भूमिगत भएर काम गरेको ३ वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभयो । २०३५ साल पुस ११ गते कम्युनिष्ट घटकहरु मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठकका रुपमा परिचालित हुनुभयो । त्यसपश्चात् तत्कालीन मालेले २०३९ सालदेखि घिमिरेलाई इलाम जिल्लाको पार्टी प्रमुखको जिम्मेवारी दियो । घिमिरेले २०३६ देखि २०४६ सम्म १० बर्ष भन्दा बढी कठिन भूमिगत जीवन पार्टी निर्माणमा बिताउनुभयो । भूमिगत राजनीतिमा पञ्चायती शासकले उहाँलाई पटक पटक पक्राउ पूर्जी जारी गरेको थियो ।

त्यस्तै, २०४९ सालमा एमालेको पाँचौ राष्ट्रिय महाधिवेशनबाट घिमिरे केन्द्रीय सदस्य हुनुभयो । २०५० सालमा नेकपा एमालेको मेची अञ्चल इन्चार्जको जिम्मेवारी पनि घिमिरेले प्राप्त गर्नुभयो । घिमिरे २०५६ सालमा राष्ट्रिय सभा सदस्य समेत हुनुभयो । २०५८ सालमा पाटीको केन्द्रीय विभाग अर्न्तगत स्वास्थ्य विभागको इन्चार्जको रुपमा घिमिरेले योगदान दिनुभयो । त्यसपछि इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघको इन्चार्जको रुपमा रहनुभयो ।

२०७५ सालमा तत्कालीन नेकपाको प्रदेश १ अध्यक्ष हुनुभएको घिमिरे २०७८ सालमा सम्पन्न नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्जमा चयन हुनुभयो ।

२०७९ मा पहिलो पटक झापा क्षेत्र नं २ बाट उम्मेदवार बनेका घिमिरेले अन्ततः सभामुखको जिम्मेवारी पाउनुभएको हो । घिमिरे एमाले अध्यक्ष केपी ओली र वर्तमान राष्ट्रपति विद्या भण्डारीको विश्वास पात्र मानिनुहुन्छ । पार्टीका अर्का सांसद छविलाल विश्वकर्मालाई पछाडी पार्दै एमालेको तर्फबाट सभामुख बन्नका लागि महासचिव शंकर पोखरेल लगायत नेताको समर्थन पाउनुभएको बताइन्छ । 


प्रतिक्रिया