‘हेलिकप्टर दुर्घटना न्यूनिकरण गर्न सम्बिन्धित निकायले ध्यान दिएन’

असार २८, २०८० | काठमाडौं

नेपाल सरकारले सोलुखुम्बुमा मंगलबार भएको मनाङ एअरको हेलिकप्टर दुर्घटना पश्चात् घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । नेपाली आकाशमा हवाई उडान असुरक्षित भएको भन्दै बहस हुने गरेको पृष्ठभूमिमा त्यसलाई सुरक्षित बनाउने बुधवारबाट केही नयाँ नियम लागु समेत गरिएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।

विकट र अप्ठेरो भौगोलिक क्षेत्रमा विपत पर्दा उद्धार गर्ने प्रभावकारी साधनको रुपमा लिइदै आइएको हेलिकप्टर नेपाली आकाशमा भने असुरक्षित देखिदै आएको छ । नेपालमा पहिलो हेलिकप्टर दुर्घटना सन् १९७९ मा भएको थियो । सो दुर्घटनामा परि ६ जनाको मृत्यु भएको थियो । त्यस यता ४४ वर्षको अवधिमा ३८ वटा हेलिकप्टर दुर्घटनामा परेका छन् । ३८ वटा दुर्घटना मध्ये १९ वटा दुर्घटनामा मानविय क्षति भएको छ । जसमा ९२ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्क छ । सन् २००० भन्दा अगाडी ९ वटा हेलिकप्टर दुर्घटना भएको थियो । त्यसपछि दुर्घटना बढेको देखिन्छ । सन् २००१ देखि गत मंगलवारको दुर्घटनासहित २९ वटा हेलिकप्टर दुर्घटना भएको छ । पछिल्लो समय दुर्घटना बढ्नुको कारण मौसमको चुनौती पनि एक रहेको नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्वमहानिर्देशक राजेन्द्र क्षेत्री बताउँछन् ।

प्राधिकरणको तथ्याङ्क अनुसार सन् २००२ मा भएको एसियन एयरलाइन्सको हेलिकप्टरमा ११ जना यात्रुकै मृत्यु भएको थियो । त्यस्तै, सन् २००६ मा उडान भरेको श्री एयरलायन्सको हेलिकप्टरमा सवार २४ जनाको दुर्घटनामा परि मृत्यु भएको थियो । सो दुर्घटनालाई नेपाली आकाशमै अहिलेसम्मकै सबैभन्दा ठूलो हेलिकप्टर दुर्घटनाको रुपमा दर्ज भएको हो । परिवर्तन भैरहने मौसमका कारण र अप्ठ्यारो भूगोलमा पाइलटले सामना गर्ने चुनौतीका कारण हेलिकप्टर उडान असुरक्षित बन्दै गएको बताउँछन् उडड्यन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दली ।

नेपालमा अधिकांश हेलिकप्टर दुर्घटना मौसमका कारणले हुन्छ भनिए पनि त्यसलाई न्यूनिकरण गर्न सम्बिन्धित निकायले खासै ध्यान दिएको देखिदैन । बढी मात्रामा मौसम परिवर्तन भइरहने स्थानमा त्यसबारे जानकारी दिने क्यामारा जडान गरे दुर्घटना न्यूनिकरण गर्न सकिने विज्ञहरुको भनाइ छ ।

उडड्यन प्राधिकरणले सोलुखुम्बुमा भएको मनाङ एअरको दुर्घटनापछि हेलिकप्टर उडानलाई थप सुरक्षित, व्यवस्थित तथा भरपर्दो बनाउने उद्देश्यले केही नयाँ नियम लागू गरेको छ । लागू गरिएको नयाँ नियममा हेलिकप्टर तथा छोटोदुरीको धवनमार्ग भएको विमानस्थलमा हुने दैनिक उडान गतिबिधिलाई नियमित रुपमा सुपरिवेक्षण तथा नियमन गरिनेछ । त्यस्तै, हेलिकप्टर उडान सम्बन्धी हाल विभिन्न विमानस्थलबाट भइरहेको अनुमति कार्य चालु मनसुन अवधिभर साप्ताहिक रुपमा समिक्षा गरी प्राधिकरण प्रधान कार्यलयबाटै प्रदान गरिने भएको छ ।

प्राधिकरणले लागु गरेको नियममा हेलिकप्टर उडान सञ्चालन अनुमति दिँदा प्रस्थान विन्दु वा अवतरण विन्दु मध्ये कम्तिमा एक विन्दुमा विमानस्थल हुनुपर्ने प्रावधान राखिएको छ । त्यस्तै, हेलिकप्टर कम्पनीमा लगानी गरेका पाइलटलाई व्यवासायिक उडानमा भने रोक लगाउने नियम समेत प्राधिकरणले बनाएको छ । यी नियमहरुको प्रभावकारी कार्यन्वयन हुन सकेमा नेपाली हवाइ उडानलाई व्यवस्थित गर्न सकिने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया