पर्यटक भित्र्याउने लक्ष्यमा चुक्दै सरकार

श्रावण ६, २०८० | काठमाडौं

सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । तर, पछिल्लो समय पर्यटकहरुको आगमनलाई हेर्दा सो लक्ष्य पूरा गर्न निकै चुनौतीपूर्ण हुने देखिएको छ । बढी पर्यटक भित्र्याउने लक्ष्य राखिए पनि आवश्यक कुनै पनि कार्यक्रम ल्याउन सरकारले ध्यान नदिएको पर्यटन व्यवसायीको गुनासो छ ।

सरकारले सन् २०२३ देखि २०३३ सम्म पर्यटक दशक घोषणा गरेको छ । सन् २०२० मा २ लाख ३० हजार ८५ पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्याङमा उल्लेख छ । त्यस्तै, सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६२ पर्यटकले नेपालको भ्रमण गरेका छन् । सन् २०२२ मा ६ लाख १४ हजार १ सय ४८ पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्याङकले देखाउँछ । सन् २०२३ को ६ महिनाको अवधिमा ४ लाख ७६ हजार ४ सय ८१ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो तथ्याङले नेपालमा पर्यटन क्षेत्र पुनः लयमा फर्किदै गरेको पुष्टी भएको नेपाल पर्यटन बोर्डका सह–प्रवक्ता मणिराज लामिछानेको भनाइ छ ।

सन् २०१९ को अनुपातमा ८० प्रतिशत बढी पर्यटक भित्रिएका छन् । यद्यपी कोरोना कहरपछि नयाँ होटल थपिएको र सो अनुपातमा पर्यटक आगमनको संख्या पुग्दो नभएको पर्यटन व्यवसायीहरुको भनाई छ । पर्यटक भित्र्याउन पर्याप्त आवश्यक पूर्वाधारको कमी, उपलब्ध पूर्वाधारको पनि उचित व्यवस्थापन नहुँदा समस्या हुने होटल एसोसियसन अफ नेपालका अध्यक्ष बिनायक शाह बताउँछन् ।

सरकारले पर्यटक पुर्नउत्थानका लागि पर्यटन दशक मनाउने घोषण गरेपनि त्यसलाई लक्षित कुनै पनि कार्यक्रमहरु अगाडी नबढाएको नीजि क्षेत्रको गुनासो छ । सरकारले नीजि क्षेत्रलाई उपेक्षा गरेको भन्दै पक्ष–विपक्षमा बहस समेत हुन्छन् । तर, पर्यटन बोर्डको आगामी आर्थिक वर्षको बजेट र कार्यक्रममा नीजि क्षेत्रलाई सम्बोधन गरिने बोर्डका सह–प्रवक्ता लामिछानेको भनाइ छ ।

पर्यटक आगमनमा वृद्धि भएपनि सो संख्याले मात्रै पर्यटन क्षेत्रलाई चलायमान बनाउन नसक्ने व्यवसायीहरुको तर्क छ । पर्यटक दशकमा प्रवेश गरेको ७ महिना भइसक्दा समेत सरकारी पक्षबाट पर्यटन पुर्नःउत्थानका निम्ती दिर्घकालिन योजना र कार्यक्रम नहुँदा नीजि क्षेत्रको उत्साह बढेको देखिदैन ।


प्रतिक्रिया