भएका विमानस्थल सञ्चालन गर्नुको साटो अर्को विमानस्थल बनाउने सरकारको तयारी

फाल्गुन १४, २०८० | काठमाडौं

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेक अन्य दुई अन्तर्राष्ट्रिय विमानस्थलमा हाल अन्तर्राष्ट्रिय उडान भएका छैनन् । भैरहवाको गौतमबृद्ध र कास्कीको पोखरा विमानस्थल अन्तराष्ट्रिय उडानको प्रतिक्षामा छन् । अर्बौ लगानी भएको विमानस्थल सञ्चालन हुन नसकेको अवस्थामा सरकारले निजगढ विमानस्थल निर्माणलाई अघि बढाएको छ । भएका विमानस्थल सञ्चालन गर्नुको साटो अर्को विमानस्थल बनाउने निर्णयले कतै राज्यलाई थप आर्थिक भार पार्ने चिन्ता व्यक्त भएका छन् ।

गत कात्तिक २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले निजगढ विमानस्थलबारे पुनः एउटा निर्णय गर्यो । वर्षौँदेखि चर्चामा रहेको र केही प्रारम्भिक काम समेत अघि बढिसकेको सो विमानस्थलको काम अघि बढाउने विषय चालु आर्थिक वर्षको बजेटमा पनि समेटिएको छ । झन्डै साढे ४ खर्ब रुपैयाँ लागत अनुमान गरिएको निजगढ बनाउने चर्चा हुँदा काठमाडौंस्थित त्रिभुवन विमानस्थल साँघुरो भएको भन्दै यात्रुको चाप घटाउने लक्ष्यसहित निर्माण गरिएको दुई अन्तर्राष्ट्रिय विमानस्थललाई वेवास्ता गर्न नहुने मत समेत प्रकट भइरहेका छन् । किनभने भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले कुनै पनि विदेशी विमानले उडान भरेका छैनन् भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही समय जजिराले उडान गरेपनि अहिले उसले समेत आफ्नो उडान रोकेको छ । आन्तरिक उडान मार्फत वार्षिक ५० करोडको आम्दानी गर्दै आएको गौतमबुद्ध विमानस्थलको खर्च भने वर्षको ३३ करोड भएको उड्डयन प्राधिकरणको तथ्याङ्कले देखाउँछ । सो विमानस्थलको कुल लागत भने ९ अर्ब हो । यसरी राज्यले अर्बौ लगानी गरेको विमानस्थल सञ्चालनमा नआउँदा उड्डयन क्षेत्रमात्र होइन त्यहाँका नीजि क्षेत्र समेत निराशा छाएको सिद्धार्थ सञ्जाल रुपन्देहीका वरिष्ठ उपाध्यक्ष तथा सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए ।

भैरहवाको गौतमबुद्ध मात्र होइन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हविगत समेत उस्तै छ । झन्डै २२ अर्ब रुपियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको एक वर्ष पूरा भएको छ । तर वर्षमा एकाध चार्टड उडान बाहेक अन्तर्राष्ट्रिय उडान भएको छैन । जानकारहरुका अनुसार सो विमानस्थलको आम्दानी वार्षिक ५५ करोड र सञ्चालन खर्च करिब २४ करोड छ । पोखराका नीजि क्षेत्र देखि प्रदेश सरकार समेत पोखरा अन्तर्राष्ट्रिय सञ्चालनका निम्ती प्रयासरत रहेको सम्बद्ध अधिकारीहरु बताउँछन् । तर, केन्द्रिय स्तरबाट नै सो विमानस्थल सञ्चाmनमा कुनै चासो नदेखिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको भनाई छ ।

आन्तरिक बाहेक वार्षिक ३० लाख यात्रुलाई सेवा दिने उदेश्यले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गरिएको हो । तर हवाइ रुटको बिषयमा भारतसँग सहमति हुन नसक्दा बाधा उत्पन्न भएको छ । यस्तो अवस्थामा विमानस्थलको भविष्यलाई लिएर चासो र चिन्ता व्यक्त भएका छन् । नागरिक उड्डयन प्राधिकरणले भने विमानस्थलहरु सञ्चालनका लागि सबै पक्षको सक्रियता आवश्यक भएको प्राधिकरणका सह–प्रवक्ता ज्ञानेन्द्र भूलले बताए ।

नवनिर्मित दुई अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान नहुँदा प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको ग्यारेन्टी नभइ निर्माण गर्नु नहुने कतिपय कोणबाट तर्क भइरहेका छन् । तर, मन्त्रिपरिषद्को बैठकले निजगढ विमानस्थललाई निमार्ण गर्ने लक्ष्य लिएर विज्ञ समूह गठन गरि सो समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणलाई । सरकारको निर्णय बमोजिम निजगढमा विमानस्थल निर्माणका लागि आवश्यक प्रारम्भिक काम समेत सुरु भैसकेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार नेपालको उड्डयन क्षेत्रमा ८० अर्ब बराबरको लगानी छ । भैरहवाको गौतमबृद्ध र कास्कीको पोखरा विमानस्थल निर्माण भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या तीन पुगेको छ । तर बनेका अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा नआउँदै अर्को विमानस्थन निर्माण गर्दा त्यसले कतै सरकारलाई थप आर्थिक भार बढाउने त होइन भन्ने प्रश्न उब्जिएको छ । 


प्रतिक्रिया