नेपाल वार्षिक लाखौंको संख्यामा पर्यटक भित्राउन असफल

फाल्गुन १४, २०८० | काठमाडौं

सरकारले सन् २०३३ सम्म वार्षिक ३५ लाख पर्यटन भित्राउने महत्वकांक्षी लक्ष्य सहित पर्यटन दशक घोषणा गरेको छ । पर्यटन दशक सफल बनाउन भन्दै नेपाल पर्यटन बोर्डले नेपालसँग सिधा उडान भएका गन्तव्यमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम समेत गर्दै आएको छ । तर, पर्यटन भित्राउन पर्यटन बोर्डले प्रचार प्रसार गरेको गन्तव्यमा नेपाल घुम्न आउने पर्यटक भन्दा ती मुलुकमा नेपालबाट भ्रमणमा जानेको संख्या तुलनात्मक रुपमा बढी देखिएको भन्दै टीप्पणी हुन थालेको छ । सडक सञ्जालको दुराअवस्था एवं पूर्वाधारको उचित प्रयोग नहुुनुले नेपालले वार्षिक लाखौंको संख्यामा थप पर्यटक भित्राउन नसकेको भन्दै सरकारको आलोचना भैरहेको छ ।

सन् २०२३ मा मात्रै भ्रमणकै उद्देश्य लिएर २ लाख ४ हजार ५ सय १८ नेपाली विदेश गएको नेपाल अध्यागमन विभागको तथ्याङक छ । जसमध्ये १ लाख ३० हजार ९ सय २६ महिला र ७३ हजार ५ सय ७५ पुरुष छन् । पारिवारिक भेटघाटका लागि भन्दै ९६ हजार ६ सय ७३ जना महिला र ७० हजार ८ सय ८ पुरुष गरि १ लाख ६७ हजार ४ सय ८५ जनाले नेपाल छोडेको अध्यागमन विभागसँग रेकर्ड छ । त्यस्तै, खेलकुदका विभिन्न गतिविधिमा सहभागि हुन वा अवलोकन गर्न खेलकुद पर्यटकका रुपमा कुल ३ हजार ६ सय ५३ जना सन् २०२३ मा विदेशिएका थिए । कन्सर्ट तथा सांस्कृतिक कार्यक्रम लगायतमा भाग लिन भन्दै सांस्कृतिक पर्यटकको रुपमा पछिल्लो एक वर्षमा १ हजार ९ सय ६४ जना बाह्य मुलुकमा गएका थिए । यो आकँडालाई हेर्ने हो भने नेपालबाट पछिल्लो वर्षमात्रै करिब ३ लाख ७७ हजार बढी नेपालीले विभिन्न बाहनामा विदेशको भ्रमणमा गएको अध्यागमन विभागको तथ्याङक छ । यता, नेपाल घुम्न सन् २०३३ मा १० लाख १४ हजार ८ सय ८५ जना पर्यटन आएको नेपाल पर्यटन बोर्डको तथ्याङकले देखाएको छ । जसमा ५ लाख ६६ हजार ६ सय ३२ महिला र ४ लाख ४७ हजार ८ सय ४६ जना पुरुषले नेपालको भ्रमण गरेको रेकर्ड सरकारसँग छ । नेपाल भ्रमण गर्ने सबैभन्दा धेरै भारतीय पर्यटन छन् । भारतबाट मात्रै सन् २०२३ मा ३ लाख १९ हजार ९ सय ३६ पर्यटकले नेपालको अवलोकन गरेको सरकारी तथ्याङकले देखाउँछ । त्यस्तै, अर्को सिधा हवाई उडान हुने गन्तव्य बंगलादेशबाट नेपाल भ्रमणमा ३६ हजार ४ सय ८३ जना एक वर्षको अवधिमा आएका छन् । यी बाहेक वान स्टप डेस्टिनेसन अर्थात सिधा हवाइ उडान हुने मुलुकबाट नेपाल भ्रमण गर्ने भन्दा पनि नेपालबाट सो मुलुकमा घुम्नका लागि जानेको संख्या तुलनात्मक रुपमा बढी भएको नेपाल पर्यटन बोर्डका सह–प्रवक्ता मणिराज लामिछाने बताउँछन् ।

भारत र बंगलादेश बाहेकका वान स्टप डेस्टिनेशन थाइल्याण्ड, चाइना, सिङगापुर, मलेसिया, लगायतमा बुद्ध धर्मालम्बि पर्यटकको संख्या उल्लेख्य छ । बुद्धको जन्मस्थल लुम्बिनीलाई लक्षित गरि निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्न सके मात्र पनि ती गन्तव्यका लाखौं संख्यामा पर्यटन भित्राउन सक्षम हुने सो क्षेत्रका पर्यटन व्यवसायीहरुको भनाइ छ । तर, अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउँदा ती पर्यटकलाई नेपालमा स्वागत गर्न नसकिएको गुनासो पर्यटन क्षेत्रको छ । सडकको दुरावस्था र उपलब्ध पूर्वाधारको प्रयोग नहुनु दुखद पक्ष भएको सिद्धार्थ सञ्जाल रुपन्देहीका वरिष्ठ उपाध्यक्ष तथा सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए ।

नेपाल भारत र चीन जस्तो दुई विशाल मुलुकको बीचमा छ । यी दुई मुलुक संसारकै सबैभन्दा बढी जनसंख्या भएका राष्ट्रमा पहिलो र दोस्रो नम्बरमा पर्छन् । यी दुई राष्ट्रलाई लक्षित गरि पर्यटन प्रचारमात्र गर्न सकिएपनि नेपालको पर्यटन क्षेत्रले फड्को मार्ने पोखरा पर्यटन विकास परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठको भनाई छ ।

विश्वकै ठूला जनसंख्या भएका छिमेकी राष्ट्रबाट सरकारले अपेक्षित पर्यटक भित्राउन नसकेको स्वयकं सरकारी पक्षको भनाई छ । अन्य राष्ट्रले नेपालले भन्दा लाखौं बढी पर्यटक दुई छिमेकीबाट भित्राउदै गर्दा नेपाल भने अवसरबाट चुकेको स्वकार्छन् बोर्डका सह–प्रवक्ता लामिछाने ।

नेपाल भ्रमणमा आउने दोस्रो नम्बरमा अमेरिकन पर्यटक पर्छन् । सन् २०२३ मा मात्रै १ लाख ३ सय ५७ अमेरिकन पर्यटकले नेपाल भ्रमण गरेका थिए । तर अमेरिका नेपालसँग सिधा हवाइ उडान भएको मुलुक भने होइन । १ सय ४० करोड बढी जनसंख्या भएको चीनबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्या सन् २०२३ मा मात्र करिब ६१ हजार मात्र छ । नेपालसँग सिधा उडान भर्ने राष्ट्रमध्येको एक थाइल्याण्डबाट अझ नेपालले सोचे अनुरुप पर्यटक भित्राउन सकेको छैन । पछिल्लो एक वर्षमा नेपालबाट थाइल्याण्ड भ्रमण गर्न २१ हजार २ सय ६० पर्यटक जाँदा बैकंकबाट मात्र २५ हजार ६ सय बढीले नेपालको भ्रमण गरेका छन् । 


प्रतिक्रिया