१५ महिनामा तेस्रो सत्ता गठबन्धन, ओलीलाई प्रधानमन्त्रीको महत्वाकांक्षा !

फाल्गुन २३, २०८० | काठमाडौं

२०७९ मंसिरमा सम्पन्न आम निर्वाचनपछिको १५ महिनाको अवधिमा मुलुकमा तेस्रो सत्ता गठबन्धन बनेको छ । अघिल्लो बर्षको पुष १० गते माओवादी, एमाले, रास्वपा र राप्रपासहितका दल सहभागी भएर गठित गठबन्धन राष्ट्रपति निर्वाचनको सेरोफेरोमा फागुन दोस्रो सातामै भत्किएपछि अर्को गठबन्धन निर्माण भएको थियो । संसदको तेस्रो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा निरन्तरता दिदै कंग्रेस लगायत दल सहभागी भएपछि गठबन्धन फेरिएको थियो । तर त्यही गठबन्धनले एक बर्ष पुरा गरेको केही दिनपछि फेरि सत्ता राजनीतिको नयाँ अध्याय शुरु भएको छ ।

अघिल्लो मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा कंग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा मिलेर चुनावी गठजोड गरेका थिए । चुनावी नतिजा अनुसार, ८९ सिटसहित कांग्रेस सबैभन्दा ठूलो दल बन्दा एमाले ७८ सिटसहित दोस्रो, माओवादी केन्द्र ३२ सहित तेस्रो दल बन्यो । नयाँ शक्तिको रुपमा उपनिर्वाचनबाट एक सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा समग्रमा २१ सिटसहित चौथो शक्ति बन्यो भने १४ सिट सहित राप्रपा पाँचौ शक्ति बन्यो ।

चुनावपछिको सरकारको नेतृत्वका लागि कंग्रेससँग सहमति हुन नसकेपछि नाटकीय रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कंग्रेस बाहेकका शक्तिहरुको समर्थनमा पुष १० गते प्रधानमन्त्री पद हात पारेका थिए । पहिलो दल भएर पनि प्रतिपक्षमा धकेलिएको कंग्रेस दुई महिनाको भगिरथ प्रयासपछि राष्ट्रपति निर्वाचनमा गठबन्धन भत्काउँदै सत्ता गठबन्धनमा सामेल भयो । र, कंग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति बने भने जसपाका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएका थिए । त्यसपछि एमाले, राप्रपा र रास्वपा सत्ताबाट बर्हिगमनमा परे ।

राजनीतिले नयाँ मोड लिएपछि माओवादी केन्द्र, नेपाली कंग्रेस, एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टी सम्मिलित गठबन्धन निर्माण भएको थियो । त्यतिवेला पाँच वर्षे अवधिमा दुई वर्ष माओवादी केन्द्र, एक वर्ष एकीकृत समाजवादी र दुई वर्ष कांग्रेसले आलोपालोमा प्रधानमन्त्री पाउने सहमति गरेर गठबन्धनले सत्ताको बागडोर अघि बढाएको थियो । तर, राष्ट्रिय सभा अध्यक्ष र मन्त्रीमण्डल हेरफेरको विवाद चर्किदै जाँदा प्रधानमन्त्री दाहालले अर्को गठबन्धनको निर्माण गरेका हुन् ।

पुष १० गते गठबन्धन भत्किएपछि प्रतिपक्षमा पुगेका एमाले र रास्वपाको समर्थनमा दाहालले प्रधानमन्त्रीमा आफूलाई निरन्तरता दिने बाटो रोजेका छन् । कतिपयको नजरमा अविश्वसनीय राजनीतिक पात्र त कतिपयको बुझाइमा साहसिक निर्णय लिन सक्ने नेताको छवि बनाएका दाहालले आफ्ना कटु आलोचक एमाले अध्यक्ष केपी ओलीको समर्थन फेरि हासिल गरेका हुन् । तेस्रो पटक मुलुकको नेतृत्व सम्हाल्दै गर्दा प्रधानमन्त्री दाहालले अन्तिम कार्यकाललाई ऐतिहासिक बनाउने लक्ष्य लिएको उद्घोष गरेका थिए । सरकारले अघि बढाएको भ्रष्टाचार, अनियमितता लगायतका काण्डमा सत्तारुढ दलका नेता नै मुछिन थालेपछि सुशासनप्रति दाहालको प्रतिवद्धता कमजोर मात्र भएन, उनले सत्ताका लागि सौदावाजी गरेको संगीन आरोप समेत लाग्यो ।

सतहमा हेर्दा गठबन्धनको सहमति विपरित कोशीको मुख्यमन्त्री कंग्रेसको संस्थापन इतर नेताको हातमा पुग्नु, राष्ट्रिय सभा निर्वाचनमा कंग्रेसको सहयोग नहुँदा आफ्ना उम्मेदवार पराजित हुनु र कंग्रेसको महासमितिले आगामी चुनावमा गठबन्धन नगर्ने निर्णय गर्नु जस्ता राजनीतिक घटनाक्रम दाहालका लागि गठबन्धन फेर्ने गतिलो बहाना बन्न पुगेको देखिन्छ । कंग्रेससँगको सत्ता सहकार्यमा असहज महसुस गर्दै आएका प्रधानमन्त्री दाहालले फेरि अर्को वामपन्थी दल एमाले र नयाँ शक्तिको रुपमा उदाएको रास्वपालाई सहयात्री पाएका छन् । समीकरण फेरिएको यो घटनापछि राजनीतिमा स्थायी शत्रु वा मित्र हुँदैन भन्ने अवसरवादी राजनीतिलाई नेपालका दलहरुले फेरि पनि अंगालेको टिप्पणी समेत भइरहेको छ ।

चुनावबाट तेस्रो शक्ति भएपनि प्रधानमन्त्री पद हत्याएका दाहालका सामु अब केपी ओली, रवि लामिछाने, उपेन्द्र यादव लगायत नेताको समर्थन कायम राख्दै सरकार सञ्चालन गर्नुपर्ने चुनौती खडा भएको छ । खासगरी दाहाल र ओलीबीचको तालमेलमै नयाँ गठबन्धनको भविष्य निर्धारण हुने निश्चित छ । किनभने संसदको दोस्रो दलका अध्यक्ष ओलीमा पनि फेरि एक पटक प्रधानमन्त्री हुने महत्वाकांक्षा देखिन्छ ।   


प्रतिक्रिया