सन् १९८० को दशकदेखि खेल्दै आएको नेपाल र बंगलादेश

भाद्र २२, २०८२ | काठमाडौं

नेपालले झण्डै दुई वर्षपछि घरेलु भूमि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको छ । बंगलादेशविरुद्धको २ मैत्रीपूर्ण खेलका लागि नेपाली टोली तयार रहेको प्रशिक्षक म्याट रस र कप्तान किरण चेम्जोङ्गले बताएका छन् । नेपालले सन् १९८० को दशकदेखि बंगलादेशसँग खेल्दै आएको छ । यी दुईले अहिलेसम्म खेलेका खेलको नतिजा हेर्ने हो भने बंगलादेश हाबी देखिएको छ । 

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशाला पनि अफिसियल म्याच खेल्न अयोग्य भएपछि नेपाली राष्ट्रिय फुटबल टोलीले झण्डै २ वर्षपछि सोही मैदानमा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । खेलका लागि टिमको तयारी राम्रो भएको बताउँछन् राष्ट्रिय टोलीका खेलाडी भरत खवास ।

राष्ट्रिय टिमबाट निकै लामो समय खेलेका खवासले बंगलादेशसँगको मैत्रीपूर्ण खेल पश्चात सन्न्यास लिने बताएका छन् । तर, घरेलुु लिग खेल्ने र भविष्यमा फुटबल कोचिङ गर्ने योजना उनको छ । नेपालले आफ्नो फुटबल इतिहासमा बंगलादेशसँग सबैभन्दा बढी खेल खेलेको छ ।

 अहिलेसम्म खेलेका २७ खेलमध्ये नेपालले ८ मा जित हात पार्दा १४ खेलमा पराजित भएको छ भने ५ खेलमा बराबरीको नतिजा आएको छ । नेपालले बंगलादेशसँग सन् १९८३ मा पहिलो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । 

मलेसियामा आयोजित सो खेलमा नेपाल १–० ले पराजित भएको थियो । त्यसको एक वर्षपछि सन् १९८४ को दक्षिण एसियाली खेलकुदमा नेपाल र बंगलादेश फेरि आमने सामने भए । समूह चरणमा बंगलादेशले नेपाललाई ५–० ले हरायो । त्यसपछि सन् १९८६ को एसियाली खेलकुद र सन् १९८७ को दक्षिण एसियाली खेलकुदको समूह चरणमा भएका भेटमा नेपालले एक र बंगलादेशले एक खेल जित्यो ।

सन् १९९१ को दक्षिण एसियाली खेलकुदमा दुवै टोली कास्यका लागि भिडे । सो खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भयो । त्यसपछिका खेलमा बंगलादेशले नेपालमाथि लगातार जित हात पार्यो ।

२० वर्षको अवधिमा बंगलादेशले प्रत्येक खेल जित्यो । सन् १९९९ को दक्षिण एसियाली खेलकुदको फाइनलमा नेपाल फेरी एकपटक बंगलादेशसँग १–० ले पराजित भयो । 

नेपाललाई बंगलादेशविरुद्ध गोल गर्न थप १० वर्ष लाग्यो । सन् २०११ को साफ च्याम्पियनसिपमा सागर थापाको निर्णायक गोलबाट नेपालले बंगलादेशमाथि १–० को जित निकाल्यो । 

त्यसपछि नेपालले घरेलु भुमिमा सन् २०१३ को साफ च्याम्पियनसिपको उद्धघाटन खेलमा बंगलादेशलाई २–० गोलले हरायो । प्रतियोगितमा नेपाल सेमिफाइनलसम्म पुग्यो ।

सन् २०१६ को बंगबन्धु गोल्डकपमा नेपाले बंगलादेशसँग गोलरहित बराबरी खेल्यो । त्यसपछि सन् २०१८ को साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई २–० ले हरायो । नेपाल र बंगलादेशबीच सन् २०२० मा भएको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एक खेल बंगलादेशले जित्दा एक खेल गोलरहित बराबरीमा सकियो । 

सन् २०२१ को थ्री नेशन्स कपमा एक खेल नेपालले २–१ ले जित्दा अर्को गोलरहित बराबरीमा टुङ्गियो । त्यसपछि सन् २०२१ को साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेशले १–१ गोलको बराबरी खेले । सन् २०२२ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ गोलले हराएको थियो । नेपाल र बंगलादशले अहिलेसम्म ६ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेका छन् । 

तुलनात्मक रुपमा नेपाल र बंगलादेश उस्तै रहको फुटबल जानकार प्रकाश तिमल्सिना बताउँछन् । धेरै लामो समयपछि घरेलुमैदानमा खेल्न लागेको हुनाले राष्ट्रिय टोली उत्साहित रहेको उनको भनाई छ ।

नेपालले पछिल्लो पटक २०८० मंसिर ५ मा फिफा विश्वकप र एसियन कप छनोट अन्तर्गत यमनविरुद्ध दशरथ रंगशलामा खेलेको थियो । सो खेलमा नेपाल २–० ले पराजित भएको थियो । 

दशरथ रंगशालाको पिचको अवस्था, सुरक्षा व्यवस्था र फ्लड लाइडको समस्या देखाउँदै नेपालले घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न पाएको छैन । 

फिफा र एएफसीको मान्यताप्राप्त आधिकारिक खेलहरू तत्काल दशरथ रंगशालामा हुने छैन । तर फिफा विन्डोमै हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल भने दशरथ रंगशालामै आयोजना हुन लागेको छ । र, यसको फाइदा उठाउन नेपाली टोली आतुर छ ।


प्रतिक्रिया