गिरीबन्धु टी–स्टेटको जग्गालाई लिएर काँग्रेस र एमालेबीच टकराव उत्पन्न

जेष्ठ १४, २०८१ | काठमाडौं

सहकारी ठगीको मुद्धाका कारण संसदीय गतिरोध लम्बिरहँदा मुलुकका दूई ठूला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालेबीच नै टकराव उत्पन्न भएको छ । सहकारी ठगीको बिषय उठाएर संसदमा अवरोध गर्दै आएको प्रतिपक्षी काँग्रेसका नेताहरुले झापास्थित गिरीबन्धु टि–स्टेटको जग्गा प्रकरणमा एमाले नेतृत्वमाथि प्रश्न उठाएसँगै दुई दलबीच तिक्तता शुरु भएको हो । एकातिर सहकारी ठगीको बिषयलाई लिएर काँग्रेस सडकमा समेत उत्रिसकेको छ भने अर्कोतर्फ कंग्रेस र एमालेका नेताहरु एक–अर्काको आलोचनामा व्यस्त छन् ।

झापाको बिर्तामोडस्थित गिरिबन्धु टी–स्टेटको जग्गा र सहकारी ठगीको प्रकरणलाई लिएर विभिन्न कोणबाट आलोचना भइरहँदा काँग्रेस र एमालेबीच सोही विषयमा आरोप प्रत्यारोप चलेको हो । पछिल्लो पटक आईतबार नेपाली काँग्रेसले सहकारी ठगीका विरुद्धमा काठमाडौंमा आयोजना गरेको प्रदर्शनका क्रममा कंग्रेसका नेताहरुले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वर्तमान गृहमन्त्री रवि लामिछानेबीच एक अर्कालाई जोगाउने प्रयास गरिरहेको आरोप लगाएका थिए ।

गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा नीतिगत भ्रष्टाचार भएको भन्दै परेको रिटमाथि सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै सो विषयले सार्वजनिक वृत्तमा चर्चा पाएको हो । र, काँग्रेसका नेताहरुले ओलीमाथि प्रश्न उठाइरहेका हुन् । लगत्तै एमाले अध्यक्ष ओलीले गिरीबन्धु टि स्टेट ७० विघा जग्गा काँग्रेसले हिनामिना गरेको आरोप लगाए । विवाद बढ्दै जाँदा काँग्रेसका नेताहरुले जग्गा प्रकरणको विषयलाई उठाइरहेका छन् । सोही पृष्ठभूमिमा एमालेले आफूविरुद्धको अभिव्यक्तिमा कंग्रेसका नेताहरुले माफी माग्नुपर्ने सो पार्टीका उपाध्यक्ष विष्णु पौडेलले बताए ।

पुष्पकमल दाहाल नेतृत्वको सरकार परिवर्तन भएसँगै प्रतिपक्षीमा पुगेको काँगे्रेसले सरकार र सरकारमा सहभागी दलहरुप्रति निरन्तर आवाज उठाउँदै आएको छ । पछिल्लो २ महिना यता सहकारी ठगीे प्रकरणको छानविन गर्नुपर्ने भन्दै निरन्तर सडक र संसद्बाट समेत विरोध गर्दै आएको काँग्रेसले गिरीबन्धुको जग्गा प्रकरणलाई समेत जोडेर सत्तारुढ दलमाथि प्रश्न उठाएको छ । दुई दलका नेताबीच आरोप प्रत्यारोप चलिरहँदा एमाले उपाध्यक्ष पौडेलले भने नेपाली काँग्रेसको अभिव्यक्तिलाई लिएर राजनीतिक रुपमा प्रतिवाद गर्ने बताए ।

घटनाक्रम हेर्दा कंग्रेस र एमालेबीच टकराव बढ्दै जाने सङ्केत देखिएको छ । वर्तमान सरकारको विकल्पमा ठूला दुई दल काँग्रेस र एमालेबीच सत्ता साझेदारी हुन सक्ने विश्लेषणको पृष्ठभूमिमा उनीहरुबीच टकराव सृजना भएको हो । दुई दलबीचको मतभेदले राजनीतिक धुव्रिकरण बढाउने आशङ्का समेत गरिएको छ ।  


प्रतिक्रिया