मधेशमा त्रिपक्षीय भिडन्त: पुराना, नयाँ दल भर्सेज मधेशवादी दल

रेडियो कान्तिपुर संवाददाता

माघ २१, २०८२

सुनिता लोहनी  

काठमाडौँ । मधेस आन्दोलनपछि राष्ट्रिय राजनीतिमा उदाएका दलहरुले सत्ता यात्रा र पार्टी विभाजनको अनेकौं परिघटना आत्मसात गरिसकेका छन् । आपसी कलहका कारण कहिले विभाजित हुँदै त कहिले पार्टी एकता गर्दै आएका ती दलका नेताहरु आगामी निर्वाचनमा पनि जित हात पार्ने रणनीतिमा छन् । नेपाली कंग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र रास्वपा लगायत दलका नेतासँग प्रतिस्पर्धा गर्दै चुनावी जित्नुपर्ने दवाव उनीहरुलाई छ ।

मधेश प्रदेशमा ८ जिल्ला छन् । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी हरेक जिल्लामा ४ निर्वाचन क्षेत्र गर्दा ३२ वटा निर्वाचन क्षेत्र छन् । जसमा १ हजार ५४ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा बढी १ सय ५४ जनाले धनुषामा उम्मेदवारी दिएका छन् भने सबैभन्दा कम सप्तरीमा १ सय ४ जना चुनावी प्रतिस्पर्धामा छन् ।

त्यसो त देशको सबैभन्दा धेरै जनसंख्या भएको प्रदेशमा मधेस अगाडी छ । राष्ट्रिय जनगणना २०७८ अनुसार सात प्रदेशमध्ये मधेश प्रदेशमा ६१ लाख २६ हजार २ सय ८८ जना नागरिक छन् । जुन समग्रमा २० दशमलब ९९ प्रतिशत हुन आउँछ । यही प्रदेशका जिल्लाहरुमा २०६४ मा भएको मधेश आन्दोलनपछि मधेशवादी दलको प्रभाव बढेको थियो । तर क्षेत्रीय रुपमा उदाएका पार्टीहरु विभाजनको नियतिबाट गुज्रिदै आएका छन् । यस्तो अवस्थामा आगामी निर्वाचनमा नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका ठूला दलले आफ्नो प्रभाव मधेशमा पार्न खोजिरहदा त्यहाँको निर्वाचनलाई चासोपूर्वक हेरिएको छ । २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा जनता समाजवादी पार्टीले प्रत्यक्षतर्फ ७ र समानुपातिकमा ५ सिट जित्दै छैटाँै ठूलो राष्ट्रिय दल बनेको थियो । सिके राउतको जनमत पार्टीले प्रत्यक्षतर्फ १ सिट ल्याई समानुपातिकमा ५ सिट जितेको थियो । लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षतर्फ ४ सिट जितेको थियो भने समानुपातिकबाट सिट ल्याउन सकेन । यस्तो अवस्थामा मधेस केन्द्रित दलहरुलाई अब चुनाव त्यति सहज देखिएको छैन । मधेस आन्दोलनबाट उदाएका उपेन्द्र यादव, महन्थ ठाकुर र वृषेशचन्द्रलाल लगायत नेताहरु जसपा नेपालमा एकतावद्ध भएका छन् । उनीहरुमध्ये उपेन्द्र यादव जनता समाजवादी पार्टी नेपालबाट यसपालि सप्तरी ३ बाट प्रतिस्पर्धा गर्दैछन् । यसअघि सप्तरी २ मा जनमत पार्टीका सिके राउतसँग भारी मतले पराजित भएपनि बारा २ बाट उपनिर्वाचन जितेका यादव फेरि सप्तरी फर्किएका छन् । अहिले उनी एमालेका ताराकान्त चौधरी, कंग्रेसका दिनेशकुमार यादव र जनमत पार्टीका सुरेन्द्र शर्मा लगायतसँग प्रतिस्पर्धा गर्दैछन् । अर्कोतर्फ २०७९ को निर्वाचनमा उपेन्द्र यादवलाई हराएका जनमत पार्टीका सिके राउत सप्तरी दुईबाटै प्रतिस्पर्धा गर्दैछन् । पूर्व मुख्यमन्त्री एवम् स्वाभिमान पार्टीका सतिश कुमार सिंह, जसपाका उमेश यादव, कंग्रेसका रामकुमार यादव यस पालि राउतका प्रतिस्पर्धी छन् । अर्का चर्चित नेता ह्दयेश त्रिपाठीले जनता प्रगतिशिल पार्टी नेपालबाट पश्चिम नवलपरासी १ बाट २०७९ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद कुमार चौधरीसँग पराजित भएका थिए । यसपटक उनी जसपा नेपालबाट सोही क्षेत्रबाट प्रतिस्पर्धामा छन् । त्यस्तै, क्षेत्रीय नेताको रुपमा उदाएका राजेन्द्र महतो पछिल्लो निर्वाचनमा सर्लाही २ बाट लोकतान्त्रिक समाजवादी पार्टीबाट उठ्दा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महिन्द्र राय यादवसँग पराजित भएका थिए । यसपटक उनी सर्लाही २ बाट राष्ट्रिय मुक्ति पार्टी नेपालबाट अशोक राइको पार्टी जनता समाजवादी पार्टीसहितको एकल चिन्हमा चुनावमा लड्दैछन् । सो क्षेत्रमा महतोको मुख्य प्रतिस्पर्धीको रुपमा नेकपाका महिन्द्रराय यादव देखिएका छन् । माओवादी परित्याग गर्दै अन्तत आम जनता पार्टी खोलेका प्रभु साह रौतहट क्षेत्र नंं ३ मा प्रतिस्पर्धा गर्दैछन् । साह पहिलो संविधानसभा निर्वाचनपछि सबै निर्वाचन जित्दै आएका एक नेता हुन् । जसपा नेपालका सर्वेन्द्रनाथ शुक्ला रुपन्देही ४ बाट प्रतिस्पर्धा गर्दैछन् । पूर्व मन्त्री राजकिशोर यादव सिराहा ४ मा जसपाबाट उम्मेदवार बनेका छन् । कान्तिपुर सहकर्मी अजित तिवारीकाअनुसार शिक्षा, स्वास्थ्य र गरिबीको सूचांकमा पछाडि परेको मधेशमा रास्वपा जस्तो नयाँ दल र बालेन शाहको जनकपुरमा सम्बोधनपछि सो दललाई लिएर आम मतदातामा उत्साह आएको छ ।

भन्नै परेन, बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै रास्वपाले मधेसमा आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको छ । जनकपुरमा माघ ५ मा शाहको सम्बोधनपछि मधेशमा चुनावी माहोल ह्वात्तै बढाएको छ । मधेस राजनीतिमा प्रभावशाली मानिएकामध्ये अनिल झा अहिले कंग्रेसमा पुगेका छन् । उनी रौतहट क्षेत्र नम्वर १ मा एमालेका अजयकुमार गुप्ता, नेकपाका माधवकुमार नेपाल लगायतसँग प्रतिस्पर्धा गर्र्दैछन् । जसपा नेपालका नेता शरद्सिंह भण्डारी फेरि पनि महोत्तरीबाट सांसद बन्ने होडवाजी गरिरहेका छन् । उनले महोत्तरी २ रोजेका छन् । जसपा परित्याग गर्दै एमाले पुगेका प्रदीप यादव पर्सा १ बाट चुनाव लड्दैछन् । चुनाव जित्नकै लागि दल बदल्ने परिपाटी यो पटक पनि देखियो । मधेसको एजेन्डा उठाएपनि काम गर्न नसकेको आरोप खेपिरहेका नेताहरु अबको चुनावमा एजेन्डा विहिन भएको टिप्पणी पाइन्छ । मधेशको पुरानो एजेण्डा बोक्ने नेता नभएको र संघीयताजस्तो विषयलाई नयाँ दलले कसरी आत्मसाथ गर्छ भन्ने विषय आम मतदाताले चासोपूर्वक हेरिरहेको पर्साबाट सहकर्मी शंकर आचार्यको भनाइ छ ।

कंग्रेस परित्याग गर्दै मधेस केन्द्रित राजनीतिमा होमिएका महन्थ ठाकुर भने यसपटक राष्ट्रिय सभामा निर्वाचित भइसकेका छन् । लोसपा र जसपा नेपालबीच एकता भएको केही दिनपछि कंग्रेस र एमालेको गठबन्धनबाट ठाकुर संघीय संसदको माथिल्लो सदनमा निर्वाचित भएका हुन् । उनले गत निर्वाचन महोत्तरी तीनबाट जितेका थिए । 


प्रतिक्रिया