भक्तपुरमा नयाँ र पुराना अनुहारबीच तीव्र प्रतिस्पर्धा हुने प्रक्षेपण

फाल्गुन ११, २०८२ | काठमाडौं

बागमति प्रदेशका ३३ वटा निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्र भएको जिल्ला भक्तपुर पनि हो । चुनावी प्रतिस्पर्धामा दशकौं देखिको विरासत बोकेको नेपाल मजदुर किसान पार्टीको प्रभावयुक्त भक्तपुरको नतिजालाई धेरैले चासोपूर्वक हेर्ने गरेका छन् । भक्तपुरको क्षेत्र नम्वर एकमा नेमकिपाले लगातार जित्दै आएको छ भने क्षेत्र नम्वर दुईमा अरु दलले पनि जितेको विगत छ ।

प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुरका दुई निर्वाचन क्षेत्रमा केही पुराना र धेरैजसो नयाँ अनुहारका उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवार आ–आफ्ना चुनावी एजेण्डाहरु लिएर घरदैलोमा जान थालेपछि मतदातामा पनि उत्साह देखिन्छ । भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, एमालेका सोमप्रसाद मिश्र, नेपाली कांग्रेसका किरण न्यौपाने, रास्वपाबाट रुकेश रञ्जित, नेकपाबाट हरिराम लवजु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरतबहादुर खड्का, उज्यालो नेपाल पार्टीबाट रमेश बल्ल, जसपा नेपालबाट श्यामसुन्दर शिल्पकारलगायत उम्मेदवार छन् । भक्तपुर १ मा नेमकिपाको वर्चश्व रहँदै आएको छ । सो पार्टीको प्रभावका बीच दल र स्वतन्त्र गरी २५ जनाले उम्मेदवारी दिँदा सुवाल सो क्षेत्रका परिचित अन्ुहार हुन् । नेमकिपाका केन्द्रीय सचिव सुवालले चौथो पटक चुनाव जित्ने रणनीति बनाएका छन् ।

भक्तपुर क्षेत्र नं १ मा २०४८, २०५१, २०५६, २०६४ र २०७० मा नारायणमान बिजुक्छेले नेपाल मजदुर किसान पार्टीको प्रतिनिधित्व गर्दै निरन्तर प्रतिनिधिसभा सांसदमा भारी मतले निर्वाचित हुँदै आएका थिए । विसं २०७४ मा विजुक्छेले उम्मेदवारी नदिने निर्णय गरेसँगै नेमकिपाबाट सुवालले २०७४ र २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट भारी मत अन्तरले जितेका थिए । २०७९ को निर्वाचनमा उनले ४२ हजार ७ सय ६१ मत ल्याएर विजयी भएका हुन् । नेमकिपाको लिगेसी भत्काउन अरु दललाई त्यति सहज देखिदैन । तैपनि नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपाले चुनावी प्रचार तिब्र पारेका छन् ।

यसअघिको परम्परालाई तोड्दै परिवर्तन ल्याइने उदेश्य सहित भक्तपुर १ मा रास्वपाका उम्मेदवार रुकेश रञ्जितले प्रचारप्रसार तीव्र बनाएका छन् ।

भक्तपुर एक जस्तै चासो साथ हेरिएको अर्को भक्तपुर क्षेत्र २ पनि हो । यहाँ ३१ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । दलका १७ सहित स्वतन्त्र उम्मेदवारले जितका लागि प्रयास गरिरहेको देखिन्छ । एमाले अध्यक्ष केपी ओलीको बसाइ रहेकाले भक्तपुर दुईको चुनावी नतिजालाई महत्वका साथ हेरिएको छ । यस क्षेत्रमा एमालेका महेश बस्नेत, नेपाली कांग्रेसका कबिर राणा, रास्वपाबाट राजिब खत्री, नेमकिपाका रमेश वैद्य र नेकपाका रामप्रसाद सापकोटा उम्मेदवार छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम थापा, श्रम संस्कृति पार्टीका अर्जुन बासु, प्रगतिशील लोकतान्त्रिक पार्टीका जन्मदेव जैसी, नेपाल जनसेवा पार्टीकी जानुका पाठक, उज्यालो नेपाल पार्टीका जितराम लामालगायतले उम्मेदवारी दिएका छन् । भक्तपुर दुईमा एमाले आफ्नो पुरानो विरासत फर्काउने ध्याउन्नमा छ भने कंग्रेसले लगातार दोस्रो पटक जित्ने रणनीतिमा छ ।

यसअघि २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका दुर्लभ थापाले २४ हजार २ सय ३८ मत ल्याएर निर्वाचित हुँदा एमालेका बस्नेतले भने २३ हजार २ सय ७९ मत ल्याएका थिए । यस्तै रास्वपाका उम्मेदवार खत्री मतदाताले यसपटक नयाँलाई हेर्ने दाबीका साथ उम्मेदवारी दिएको बताउदै आएका छन् । भक्तपुरदेखि देशभरको समस्या संसदमा उठाउने र भक्तपुरको विकासमा लाग्ने प्रतिबद्धतासहित घरदैलो अभियानमा मतदातालाई रिझाउने प्रयासमा रहेका छन् ।

नेपाली कांग्रेसका राणा भक्तपुरको विकास गर्ने एजेण्डा बोकेर जनतामाझ आएको बताउँछन् । भक्तपुर २ मा कांग्रेसको बलियो आधार रहेको भन्दै विकास निर्माण र भ्रष्टाचार नियन्त्रणजस्ता मुद्धालाई आफूले प्राथमिकता दिएको उनले बताए ।

स्वतन्त्र उम्मेदवार सविन महत, प्रदिपकुमार रूपाखेती, मधु प्रकाश साहुखल, लक्ष्मी बास्तोला पौडेल, बालकृष्ण थापा, ओमकृष्ण कुटु, नवीनकुमार महत, साजन ढकाल, सुवर्ण थापा, रेणु श्रेष्ठ, अर्चना भट्टराई, अनिता भट्टराई आफ्नो पक्षमा मत मागिरहेका छन् । यसअघि भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा २०४८ सालमा नेपाली कांग्रेसका जगन्नाथ आचार्य विजयी भएका थिए । त्यस्तै २०५१ सालमा नेपाल मजदुर किसान पार्टीका आशाकाजी बासुकला, २०५६ सालमा नेपाली कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ सालमा नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापति, २०७० सालमा नेपाली कांग्रेसका रामेश्वर ढुुङ्गेल, २०७४ सालमा नेकपा एमालेका महेश बस्नेत विजयी भएका थिए । 



प्रतिक्रिया