राजनीति आत्मकेन्द्रित र व्यक्तिकेन्द्रित हुँदै जानु सुखद सङ्केत हैन : डा. इन्द्र अधिकारी

फाल्गुन १३, २०७६ | काठमाडौं

The Headliners | Journalist Pawan | 25 February 2020 | 13 Falgun 2076

मुलुकमा पछिल्लो समय व्यक्तिकेन्द्रित र आत्मकेन्द्रित राजनीति मौलाउन थालेको र त्यो लोकतान्त्रिक पद्दति र शासन व्यवस्थाका लागि सुखद सङ्केत नरहेको राजनीतिक विश्लेषक डा. इन्द्र अधिकारीले बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले एकजना व्यक्ति विशेषका लागि संविधान नै संशोधन गर्ने मनसाय राखिनु आफैंमा संविधानको मर्ममाथिको कपटपूर्ण प्रहार भएको टिप्पणी गर्नुभयो । संविधान अपरिवर्तनीय नभए पनि किन र के का लागि संशोधन भन्ने महत्वपूर्ण हुने उहाँको भनाई थियो ।

राजनीति र राज्य सञ्चालन शक्तिसँग जोडिएको र त्यसले उन्माद पैदा गर्नु अस्वभाविक नभएको उहाँको तर्क थियो । तर, जनताले के भन्लान् भन्ने हेक्का नराख्ने र भए गरेका विरोधको समेत वास्ता नगर्ने परिपाटी खतरनाक हुने डा. अधिकारीको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सव मनाउने क्रममा देखिएको तडकभडकले मुलुककै कानूनको बर्खिलाप गरेको र केही समयअघि मात्रै नेकपाले जारी गरेको आचार संहितका पनि उल्लंघन गरेकोतर्फ नेतृत्वले ध्यान नपुयार्उनु अचम्मलाग्दो भएको अधिकारीले बताउनुभयो । विवादित व्यक्तिको सौजन्यमा प्राप्त केक राजसी ठाँटमा काटेर जन्मोत्सव मनाउनुले जति विरोध गरे पनि मलाई मतलब छैन भन्ने सन्देश प्रवाह भएको उहाँले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया