अब बन्ने सरकार जनमुखी हुन्छ ओली नेतृत्वको जस्तो हुन्न : जीवनराम श्रेष्ठ

फाल्गुन १६, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 28 February 2021 | 16 Falgun 2077

नेकपाको दाहाल–नेपाल समूहका नेता जीवनराम श्रेष्ठले प्रतिनिधिसभाबाट अब बन्ने सरकार जनमुखी हुने दावी गर्नुभएको छ । ओली नेतृत्वको सरकारलाई बिस्थापित गर्ने सरकारले जनतामा आशा जगाउने काम गर्नुपर्ने र त्यसका लागि आफूहरु तयार रहेको उहाँले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले सर्वोच्चको फैसलाले संविधानको रक्षा गरेको र अब जनमतको रक्षा गर्ने काम प्रतिनिधिसभाले गर्ने उल्लेख गर्नुभयो ।

बहुमत सांसद र केन्द्रीय सदस्यहरु आफ्ना खेमातिर रहेको दावी गर्दै श्रेष्ठले कुन नेकपा आधिकारिक भन्ने विवाद नरहेको बताउनुभयो । तर, संसदीय दलबाट ओलीलाई हटाउने या संसदमा नै अविश्वासको प्रस्ताव लगेर त्यहींबाट उनलाई हटाउने भन्नेबारे पार्टीमा छलफल भैरहेकाले अहिले नै यो गर्ने भन्ने निचोडमा नपुगिएको उहाले जानकारी दिनुभयो । यद्यपि ओली राजको समाप्ति नै अहिलेको प्राथमिक विषय भएको श्रेष्ठको कथन थियो ।

पार्टी एकताको प्रसङ्गमा उहाँले ओलीले आत्मालोचना गरे र अनुशासनको कारबाही भोग्न राजी भए त्यसको पनि सम्भावना जिवितै रहेको बताउनुभयो ।


प्रतिक्रिया