वामपन्थी एकता आवश्यक त छ तर अहिले नै सम्भव हुन गाह्रो छ : रामचन्द्र झा

फाल्गुन २७, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 11 March 2021 | 27 Falgun 2077

वामपन्थी नेता रामचन्द्र झाले मुलुकमा कम्युनिष्ट शक्तिहरुबीच एकता आवश्यक भए पनि अहिले नै त्यो सम्भव नभएको बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै नेता झाले वामपन्थी एकता कसरी अघि बढाउने भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको बोली र व्यवहारमा निर्भर रहेको उल्लेख गर्नुभयो । नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चको पछिल्लो फैसलापछि प्रधानमन्त्री ओलीमा विजयको उन्माद देखिएको भन्दै उहाँले सम्वाद र छलफल चलाउनु पर्नेमा ओली उत्सव मनाउनै व्यस्त भएको आरोप लगाउनुभयो । प्रधानमन्त्रीले आफू सच्चिन तयार भएको सन्देश दिएर एमालेमै फरक मत राख्ने नेताहरुसँग वार्ता र छलफल गर्नुपर्नेमा झाको जोड थियो ।

आफू प्राविधिक रुपमा माओवादी केन्द्रको नेता भए पनि जीवनभर एमालेमा आस्था राख्ने कार्यकर्ता भएको पनि उहाँले स्पष्ट पार्नुभयो । सर्वोच्चको फैसलापछि नेताहरु अहिले विक्षिप्त भएको र अवस्था सम्हाल्न केही समय लाग्ने नेता झाले बताउनुभयो । आवधिक निर्वाचनका बेला कम्युनिष्ट गठबन्धन फेरि पनि बन्न सक्ने र त्यो बेला एकीकरणको कुरा फेरि पनि मुखरित हुनसक्ने आँकलन झाको छ । प्रधानमन्त्रीले दावी गरेजस्तो दुई तिहाई उहाँलाई प्राप्त हुने कुनै अवस्था नरहेको भन्दै झाले त्यसका लागि पनि कम्युनिष्ट शक्तिबीच गठबन्धन आवश्यक रहने उल्लेख गर्नुभयो ।


प्रतिक्रिया