मुलुकभर ९४ प्रतिशत रोपाइँ सम्पन्न

भाद्र २, २०७६ | काठमाडौं

यो वर्ष मुलुकभर ९४ प्रतिशत मात्र रोपाइँ भएको कृषि विभागले जनाएको छ । विभागको हिजो सम्मको तथ्याङक अनुसार यो गत वर्षको भन्दा करीब १ प्रतिशतले कम हो ।

समयमा मनसुन सक्रिय नहुनु र मनसुनका समय समेत आवश्यकताअनुसार पर्याप्त वर्षा नहुनुले यो वर्ष ९४ दशमलब ४३ प्रतिशत रोपाईं भएको कृषि विभाग अन्तर्गतको बाली तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष भदौं १ गतेसम्म ९५ दशमलव ३९ प्रतिशत रोपाइँ भएको थियो । 

मुलुकभर यो वर्ष हाल सम्म करीब १२ लाख हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । कुल खेतीयोग्य जमीन १३ लाख ७१ हजार ७ सय ६ हेक्टर मध्ये १२ लाख ९५ हजार २ सय ८२ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ । गत आर्थिक वर्षमा मुलुकभर १३ लाख ८ हजार ५ सय हेक्टर जमिनमा धान रोपाइँ भएको सरकारी तथ्याङक छ ।  

बाली तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो वर्ष हालसम्म सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्षको सोही अवधिमा पनि सुदूरपश्चिममा शतप्रतिशत रोपाइँ भएको थियो ।

यस्तै, प्रदेश ३ मा ९६ दशमलव ९५, कर्णाली प्रदेशमा ९६ दशमलव १६ र प्रदेश ५ मा ९४ दशमलव ३८ प्रतिशत रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ । प्रदेश १ मा ९३ दशमलव ४९, प्रदेश २ मा ९३ दशमलव ३१ प्रातिशत तथा गण्डकी प्रदेशमा ८४ दशमलव ९२ प्रतिशत रोपाइँ भएको सरकारी तथ्याङक छ । 


प्रतिक्रिया