वित्तीय अनुशासन आवश्यक : गर्भनर नेपाल

आश्विन ४, २०७६ | दाङ

नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपालले देशमा वित्तीय अनुशासन आवश्यक रहेको बताउनुभएको छ । दाङको घोराही उपमहानगरपालिका १५ स्थित महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाको आज उद्घाटन गर्दै नेपालले हरेक क्षेत्रमा वित्तीय अनुशासन हुन जरुरी रहेको बताउनुभयो ।

पैसाले जहिले पनि अनुशासन खोज्ने बताउँदै नेपालले राज्यमा पैंसा परिचालनमा अनुशासन चाहिने धारणा व्यक्त गर्नुभयो । अहिले संघीय संरचनामा धेरै सरकार भएकाले हरेक सरकार यसतर्फ गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्र बैंक वित्तीय अनुशासन कायम गराउन निरन्तर सुपरिवेक्षणमा रहेको उहाँले बताउनुभयो । हरेक बैंक र वित्तीय संस्थानलाई अनुशासनमा राख्न अनुगमन गर्ने र कमजोरी गर्नेलाई कारबाही गर्ने गरेको गर्भनर नेपालले जानकारी दिनुभयो ।

जनताको पैसा सुरक्षित गर्नु हरेक वित्तीय संस्थाको दायित्व भएको उल्लेख गर्दै उहाँले कसैले पनि आर्थिक रुपमा गलत क्रियाकलाप गर्न नपाउने बताउनुभयो । नेपाल धेरै नै अवसर र सम्भावनाको देश हुँदाहुँदै पनि अधिकांश युवाहरुले विदेशमा श्रम खर्चिरहेको उहाँले बताउनुभयो । गाउँगाउँमा भएको पैसा नचिन्ने तर विदेश धाउन मरिहत्ते गर्ने प्रवृत्तिमा सुधार ल्याउन आवश्यक रहेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया