किसानलाई धान भित्र्याउन हतार, मजदुर अभाव

आश्विन २५, २०७६ | सिमरा

दशैं सकिए लगतै बाराका किसानलाई धान भित्र्याउन भ्याई नभ्याई भएको छ । पाकेको धानमा समेत कीराको प्रकोप देखिएपछि जिल्लाका किसानहरु हतारमा धान काट्न थालेका हुन् । कीराले पाकेको धानको बाला काट्न थालेको तथा बेमौसमी बर्खाले काटेको धान बिगार्ने चिन्तामा किसान छन् ।

दैनिक ज्यालादारीमा मजदुर नपाएपछि किसाहरुले मजदुरहरुको समूहलाई नै धान काट्न र दाई गर्न ठेक्का समेत दिने गरेको बारा सखुईका किसान महेश यादवले बताए । ‘एकातिर कीराले पाकेको धानको बाला काटेर नोक्सान पार्न थालेका छ,’ यादवले भने, ‘अर्को तिर बेमौसमी बर्खाले भिजाएर काटेको धान बिगार्ने चिन्ता सबै किसानमा छाएको छ ।’

झन्डै ५ बिघा भन्दा बढी क्षेत्रफलमा धान खेती गरेका यादवले धान काट्न गाउँमा अहिले मजदुर नै पाउन मुश्किल परेको गुनासो गरे । ‘दैनिक ज्यालामा धान काट्न लगाउदा सस्तो पर्छ,’ उनले भने, ‘तर मजदुर नपाउने समस्याले ठेक्कामा दिन बाध्य हुनु परेको छ ।’ ठेक्कामा धान काट्दा महँगो परेपनि बाली सुरक्षित पार्ने त्रासले ठेक्कामा दिनु परेको उनले सुनाए ।

सोही ठाउँमै १४ कठ्ठामा धान खेती गरेका अर्का किसान विनोद यादवले अहिलेको खेती मजदुर अभावले धेरै महंगो पर्न थालेको बताए । ‘दैनिक ज्यालामा काम गर्न भन्दा मजदुर पाउदैनन,’ उनले भने, ‘तर ठेक्कामा दिने भने पछि त्यही मजदुर आफ्नो हिसाबले ठेक्का पूरा गर्न छिटो काम गर्छन ।’ ठेक्कामा लिएपछि चाँडै काम सकिदिन्छन । ज्यालामा दिएपछि धेरै समय लगाउने गरेको उनले बताए ।

धान खेती सिंचाई अभावमा अहिले विस्तारै घटदै गएको उनले बताए । ‘भूमिगत सिंचाईको सुविधा भएको मान्छेले मात्र धाने खेती गरिरहेका छन,’ उनले भने, ‘सिंचाई सुविधा नभएको खेतमा यो बाली लाउने चलन हट्दै गएको छ ।’ 

पहिला नदीमा पानी आउँदा अधिकांसले वर्षमा दुई बाली धान उमार्थे । अहिले मजदुर समस्या, सिंचाई अभावमा धान खेती घटदै गएको किसानले बताए । चुरे क्षेत्रको विनाशसँगै नदीहरुको मुहान सुक्न थालेको र नदीमा थोरै पानी आएपनि उद्योगहरुले नदीमै फोहोर पानी हालेपछि सिंचाई सुविधा गुमेको किसानहरुको भनाई छ ।

दैनिक ज्यालामा काम गर्दा आफूहरुलाई घाटा लाग्ने भएकोले ठेक्कामा काम लिएर गर्नु परेको धान काट्न ठेक्का लिएका मजदुर हरेन्द्र कुर्मीले बताए । ‘दैनिक ज्यालामा काम गर्दा ५ किलो धान ज्याला पाउछौं,’ उनले भने, ‘त्यसले परिवार चलाउन मुश्किल पर्छ ।’ ठेक्कामा लिएपछि एउटा मजदुरको भागमा झन्डै २५ किलो (पाँच पसेरी) धान आम्दानी हुन्छ । त्यसैले महँगाईको सामना गर्न र परिवारलाई खान लाउन पुग्ने गरी आम्दानी गर्न ठेक्कामा लिएर धान काट्नु परेको उनले बताए ।  

सबै क्षेत्रको मनजदुरको ज्याला बढे पनि हाम्रो ज्यालामा त्यसो नभएपछि ठेक्का विधिलाई कार्यान्वयन गर्नु परेको अर्का मजदुर फागु महतो धानुकले बताए ।

‘बढ्दो प्रविधिको प्रयोगले हामी निरक्षर मजदुरको रोजगारी समेत गुम्दै गएको छ,’ उनले भने, ‘किसानी मजदुरको काम घटेपनि थौरै कामबाट काम चलाउ आम्दानीको लागि ठेक्कामा काम गर्न मदुरको लागि फलदायी सावित भएको छ ।’ धान काट्न मजदुरलाई पुरै घाममा शरीर जलाएर काम गर्नु पर्छ । धेरै मजदुर घाम सह्न नसकेर बिरामी पनि पर्छन । त्यसैले धान काट्न मजदुर अभाव रहने गरेको उनको ठम्याई छ ।

सिंचाई समस्या र मजदुर अभावका कारण धान खेतीको क्षेत्रफल वर्षेणी घटदै गएको कृषि ज्ञान केन्द्र कलैयाले जनाएको छ । किसानले लगाएको धानको उत्पादन बढाउन नसकिएको र भएको उत्पादन अनुसार लगानी नउठ्ने भएपछि सब भन्दा बढी खेत धनी किसान मारमा परेको किसानहरुको भनाई छ ।


प्रतिक्रिया