भारत गएको विषयमा गलत प्रचार भयोः पूर्वमन्त्री खड्का

कार्तिक ३, २०८२ | काठमाडौं

निवर्तमान उर्जामन्त्री एवम् नेपाली कंग्रेसका नेता दीपक खड्काले आफू उपचारका लागि भारत गएको र त्यसलाई लिएर गलत प्रचार गरिएको दावी गर्नुभएको छ ।

सम्पत्ति शुद्धिकरणको मामिलामा छानविन भइरहँदा नेता खड्का विदेश गएको भन्ने विवरणसहितको समाचार प्रकाशित भएको थियो । तर जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त निवास परिसरमा केही सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले आफू र परिवारका सदस्यलाई डेंगी भएकाले भारतको मेदान्त अस्पतालमा उपचार गर्न गएको दावी गर्नुभएको हो ।

पूर्वमन्त्री खड्काले आफू अमेरिका पुगेको भनी गलत प्रचार गरिएको बताउनुभयो । अर्को प्रसंगमा उहाँले आफ्नो निवासमा आन्दोलनका क्रममा नोट जलेको बिषयमा समेत धारणा राख्नुभएको थियो । आफूलाई बदनाम गर्न खोजिएको उहाँको भनाइ छ ।

जेन–जी आन्दोलनमा प्रहरीले दमन गरेको आक्रोशमा भोलिपल्ट प्रदर्शन भड्किएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि खड्का पनि मन्त्रीबाट पदमुक्त भएका थिए ।

प्रदर्शनकारीले खड्काको बूढानीलकण्ठस्थित निवासमा पनि आगजनी गरेका थिए । सो क्रममा उहाँको निवासमा नेपाली र विदेशी नोट भेटिएको भिडियो र तस्बिर सार्वजनिक भएको थियो । यसैलाई मुख्य आधार बनाएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काको सम्पत्ति विवरण खोजबिन गरिरहेको छ ।


प्रतिक्रिया