गोदावरी फूलको प्रर्दशनी सुरु

कार्तिक १, २०७६ | ललितपुर

गोदावरी फूलको व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यका साथ आजबाट ललितपुरको जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा सुरु प्रर्दशनीको कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालले उद्घाटन गर्नुभयो ।

जावलाखेल खेल मैदानमा सुरु १३ औं पुष्प प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र एउटा गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल राखिएका छन । प्रदर्शनीले पुष्प व्यवसायीलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्‍याउने आयोजकको अपेक्षा छ ।

मेलामा विभिन्न जातका गोदावरी फूल बिरुवाहरुका साथै यसवर्ष भित्रिएका गोदावरी फूलको नयाँ प्रजातीका फूल बिरुवाहरुको समेत प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ । विभिन्न मुलुकबाट माउ बोटका रुपमा आयात गरी उत्पादन गरिएका करीब १६ वटा नयाँ प्रजातिका गोदावरी फूल समेत प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।

मेलाको उद्घाटन गर्दै मन्त्री खनालले पुष्प व्यवसायको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । नेपालमा पुष्प व्यवसाय फस्टाउँदै गएपनि अपेक्षाकृत रुपमा गति लिन नसकेको बताउनुभयो ।

मेला संयोजक एवं एशोसिएसनका उपाध्यक्ष शिवबहादुर खड्काले मेला ३५ हजारले अवलोकन गर्ने र करीब ५० लाख रुपैयाँ बराबरको कारोबार अनुमान गरिएको बताउनुभयो । मेला कात्तिक ४ गतेसम्म चल्ने छ । एशोसिएसनले मेलामा सहभागी उत्कृष्ट नर्सरीलाई आजै पुरस्कृत गरेको छ । 


प्रतिक्रिया