ग्यास र पेट्रोलियम पाईपलाईनको विस्तार हुँदै

कार्तिक ९, २०७६ | सिमरा

नेपाल आयल निगमले बाराको अमलेखगञ्जबाट चितवनको लोथर सम्म ग्यास र पेट्रोलियम पाईपलाईन विस्तारको काम अगाडि बढाएको छ । भारतबाट पेट्रोलियम पाईपलाईन मार्फत पेट्रोलियम पदार्थ भित्रिन थालेसँगै निगमले अमलेखगञ्जबाट चितवनको लोथर सम्म पाईपलाईन विस्तार कार्य अगाडि बढाएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले अमलेखगञ्ज स्थित निगमको २ नम्बर प्रादेशिक कार्यालय ईन्धन डिपो अगाडि सर्भे पिलर गाडेर आयोजनाको शिलान्याश गर्नुभयो । शिलान्याशपछि निगमले अमलेखगञ्ज–लोथर सम्म ६२ किलोमिटर पेट्रोलियम पाईपलाईन र वीरगञ्ज स्थित भारतीय सिमाना देखि चितवन सम्म ९८ किलोमिटर एलपीजीको पाईपलाईन विस्तार गर्न पिलर गाड्ने काम सुरु गरेको हो ।

पाईपलाईनबाट ईन्धन तथा ग्यास भित्र्याउँदा निगमलाई ढुवानी खर्च जोगिने भएकोले चितवन सम्म पाईपलाईन विस्तारको काम अघि बढाएको मन्त्री यादवले बताउनुभयो । पाईपलाईनबाट तेल भित्र्याउँदा ढुवानीमा लाग्ने खर्च बचत भएकाले पेट्रोलियम पदार्थको मूल्य घटाएको उहाँले बताउनुभयो । फास्ट ट्रयाकसँगै अमलेखगञ्जबाट पाईपलाईन काठमाडौं सम्म पुर्‍याउने योजना अघि बढाएको उहाँले जानकारी दिनुभयो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र प्रसाद पौडेलले पाईपलाईनको लागि बाटो बनाईरहेको जानकारी दिंदै अहिले सर्भे र विस्तृत अध्ययन प्रतिवेदन डीपीआरको काम भईरहेको बताउनुभयो । यसको लागि निगम तथा ईण्डियन आयल कर्पोरेशनले संयुक्त रुपमा ईन्जिनियरिङ्ग अध्ययनको काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

ईन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोकले ६ महिना अघि दिएको प्रतिवेदन अनुसार प्रारम्भिक लागत करीब २४ अर्ब ८६ करोड हुने उहाँले जानकारी दिनुभयो । प्रतिवेदनका अनुसार अमलेखगञ्ज–लोथर पेट्रोलियम पाईपलाईन निर्माण गर्दा ५ अर्ब ६७ करोड रुपैयाँ र भण्डारण ट्यांक निर्माण गर्दा ४ अर्ब १९ करोड गरी कुल ९ अर्ब ८६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । 

त्यस्तै एलपीजी ग्यासको लागि नेपाल–भारत सिमना देखि लोथर सम्म पाईपलाईन गाड्न ११ अर्ब १९ करोड र भण्डारण ट्यांक निर्माण गर्न ३ अर्ब ८१ करोड गरी कुल १५ अर्ब खर्च हुने अनुमान गरिएको निगमका कार्यकारी निर्देशक पौडेलले बताउनुभयो ।

लोथरमा पाईपलाईनबाट प्रति घण्टा पेट्रोलियम पदार्थ २ सय ९० किलोलिटर र एलपीजी ग्यास करीब १ सय टन आयात हुने उहाँले जानकारी दिनुभयो । लोथरमा एक लाख किलोलिटर पेट्रोलियम पदार्थ र २० हजार मेट्रिक टन एलपीजी ग्यास भण्डारण गर्ने क्षमता भएको ट्यांक निर्माण गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया