लुम्बिनी गुरु योजना ३ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य

मंसिर ३०, २०७६ | भैरहवा

लुम्बिनी विकास कोषले ४२ वर्ष अघिको लुम्बिनी गुरु योजना आगामी तीन वर्ष भित्रमा सम्पन्न गर्ने तयारी गरेको छ । लुम्बिनीको योजनाबद्ध विकासका लागि सन् १९७८ मा जापानका वास्तुकलाविद् प्राध्यापक केञ्जो टाँगेले लुम्बिनी गुरु योजना तयार पारेका थिए ।

 ४ दशक बितिसक्दा पनि लुम्बिनी गुरु योजना सम्पन्न गर्न नसक्दा सरकार र लुम्बिनी विकास कोष स्वदेश र विदेशमा समेत अलोचित बन्दै आएको छ । गुरुयोजना सम्पन्न गर्न सरकारी स्तरबाट लुम्बिनी विकास कोषको गठन भएको ३४ वर्ष भईसकेको छ । तर, योजनाले पूर्णता पाउन सकेको छैन । कोष स्थापना भएको यस अवधिमा अध्यक्ष पद सम्हाल्नेको संख्या ३८ जना पुगिसकेका छन् । 

गुरुयोजना सम्पन्न गर्न राष्ट्रिय प्राथमिकताको आयोजनामा समावेश गरेर काम अघि बढाएको कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठीले बताउनुभयो । राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको यो योजनालाई अबको तीन वर्षमा सम्पन्न गर्ने गरी काम अघि बढाएको उहाँले बताउनुभयो । 

सन् १९९५ सम्ममा सम्पन्न भईसक्नु पर्ने सो गुरुयोजना हालसम्म ८५ प्रतिशत काम मात्र सम्पन्न भएको छ । समयमै गुरुयोजनाको काम सम्पन्न नहुँदा यसले विश्वव्यापी रुपमा लुम्बिनीको पहिचान र महत्वलमाथि असर पर्नुका साथै लागत खर्च समेत दोब्बरले वृद्धि भएको छ ।

 कोषका योजना प्रमुख तथा निमित्त सदस्य सचिव सरोज भट्टराईले गुरुयोजना अनुरुप गर्नुपर्ने बाँकी कामको डिजाइन, जनशक्ति र अनुगमनका लागि परार्शदाता छनौट गरी सकेको भन्दै केही दिनभित्रैमा परामर्शदाता कम्पनीसँग सम्झौता हुने बताउनुभयो । 

परामर्शदाता कम्पनीमा भारतको टेलिकम्युनिकेशन कन्सल्टेन्ट अफ इन्डिया जेभी सीआइएएस नेपाल छनौट भएको छ । गुरुयोजना अनुरुप गर्नु पर्ने बाँकी कामको डिजाइन, सुपरभिजन र मर्मत सम्भार अवधि समेत बस्ने गरेर सो कम्पनीसँग १८ करोड रुपैयाँमा सम्झौता गर्ने तयारी भईरहेको कोषले जनाएको छ । 


प्रतिक्रिया