अन्तिम दिन नेप्सेमा एक अर्ब ६९ करोड बढीको कारोबार

माघ २, २०७६ | काठमाडौं

सेयर कारोबार हुने साताको अन्तिम दिन आज धितोपत्र बजारमा एक अर्ब ७० करोड रुपैयाँ बढीको कारोबार भएको छ । 

दोहोरो अंकले उकालो लागेको बजारमा १ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

बजार परिसूचक नेप्से २६ अंकले उकालो लागेर १ हजार ३ सय १० दशमलव २३ बिन्दुमा पुगेको छ । नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा ७९ करोड रुपैयाँले वृद्धि भएको छ । 

करीब २१ अंकले उकालो लागेको नेप्सेमा हिजो ९० करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको थियो । 

कारोबार भएका नेपाल टेलिकम अन्तर्गतको अन्य बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लाग्दा नेप्सेसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको हो ।

सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक २ सय ४२ दशमलव ५८ अंकले बढेको छ । 

यस्तै, निर्जीवन बीमाको १ सय २५ दशमलव ७१, उत्पादनमूलकको ९७ दशमलव ३१, लघुवित्तको ७६ दशमलव १८ र होटल समूहको उपसूचक ७४ दशमलव ५५ अंकले उकालो लागेको छ । 

नेप्सेमा आज कुल १ सय ८१ कम्पनीका १७ हजार २ सय ९५ कारोबारबाट ५० लाख २५ हजार ५ सय ६३ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

नेप्सेमा अन्तिम दिन बिहीबार हिमालयन डिस्टिलरी लिमिटेडको सबैभन्दा बढी कारोबार भयो । 


प्रतिक्रिया