केल्सा समापन, रारामा कर्णाली सम्मेलन हुने

माघ २९, २०७६ | सुर्खेत

मुगुस्थित रारा ताल परिसरमा लगानी सम्मेलन गर्ने घोषणा गर्दै ‘कर्णाली ईन्टरप्रेनरसिप एण्ड लिडरसिप समिट’ (केल्सा) समापन भएको छ । 

कर्णाली सञ्चार नेटवर्कले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको दुईदिने सम्मेलनबाट यस्तो घोषणा गरिएको हो । 

विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता भएको केल्साले आगामी अक्टोबरमा रारामा लगानी सम्मेलन गर्ने घोषणा गरेको हो । 

कर्णालीमा लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको नेटवर्कका प्रमुख डम्मर साहुले बताउनुभयो । 

कर्णालीमा सन् २०२०/२०२१ भित्र एक हजार करोड लगानी भित्र्याउने उद्देश्यका साथ अगाडि बढ्ने उहाँले बताउनुभयो । 

आर्थिक, कृषि, पर्यटन लगायतसँग सम्बन्धित मुलुकभरका ६५ जना विज्ञहरु र लगानीकर्ता समेत सहभागी रहेको सम्मेलनले जुम्लामा कर्णाली बिजनेश एण्ड ईकोनोमिक समिट गर्ने निर्णय समेत गरेको प्रमुख साहुले जानकारी दिनुभयो । 

अभियान्ता एवं म्यागासेसे अवार्ड विजेता डा. महाविर पुनले सञ्चालन गर्दै आएको राष्ट्रिय आविष्कार केन्द्रको कर्णाली च्याप्टर सुर्खेतमा स्थापना गर्ने पनि निर्णय भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयसँग यसका लागि सहकार्य गरिने प्रमुख साहुको भनाई छ । 

कुनै पनि राजनीतिक आस्था नराख्ने स्वतन्त्र व्यक्तिलाई सहभागी गराई कर्णाली रिसर्च सेन्टर (कर्णाली थिंक ट्यांक) पनि स्थापना गर्ने उहाँले जानकारी दिनुभयो । रिसर्च सेन्टरले कर्णालीको समग्र विकासका लागि सहकार्य गर्न मद्दत गर्नेछ । जसको सुझाव समितिमा भने राजनीतिक दलका व्यक्तिहरु रहनेछन् । 

कर्णालीलाई समृद्ध बनाउने सरकारको योजनामा हातेमालो गर्दै अगाडि बढ्ने आफूहरुको योजना रहेपनि सरकारले आफूहरुसँग सहकार्य नगरेको प्रमुख साहुले गुनासो गर्नुभयो । ‘हामी गैर राजनीति व्यक्ति भएर पनि होला,’ उहाँले भन्नुभयो, ‘यो सम्मेलनमा सरकारले कुनै पनि सहकार्य समन्वय गरेन ।’

सम्मेलनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, म्यागासेसे पुरस्कार विजेता महाविर पुन, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मी, कान्तिपुर पव्लिकेसन्सका सहायक महाप्रबन्धक महेश स्वाँर, नेकपा केन्द्रीय सदस्य नरबहादुर विष्ट लगायतको सहभागिता थियो । 


प्रतिक्रिया