आँप बोटमा ढकमक्क फूल लागेपछि किसान हर्षित

फाल्गुन २८, २०७६ | सिरहा

स्वादिलो फलको रुपमा मानिने आँपको बोटमा फूल (मरजर) राम्रो भएपछि यसवर्ष सिरहा र सप्तरीका किसान हर्षित भएका छन् । कृषकहरुका अनुसार आँप बोटमा फूल लाग्न थालेदेखि नै उत्पादन राम्रो हुने/नहुने थाहा हुन्छ । ‘फूल फुल्नु भनेको उत्पादन बढ्ने संकेत हो । 

४ बिघा जग्गामा आँप खेती गरेका सिरहा गोविन्दपुरका किसान लालबहादुर कोइरीले भने, ‘बगैचामा आँप ढकमक्क फुलेको देख्दा उत्पादन राम्रै हुने आशामा छु ।’ गत वर्षको तुलनामा यस वर्ष आँपमा अत्यधिक मात्रामा फूल लागेपछि उनी खुशी भएका हुन् । गतवर्ष उत्पादनमा कमी भएपछि किसान समस्यामा परेका थिए ।

जिल्लामा उत्पादित आँप स्वादिलो हुने भएकाले यसको माग नारायणघाट, काठमाडौं, पोखरा लगायत भारतको बिहार राज्यसम्म निर्यात हुने गरेको छ । ‘हावाहुरी र असिना नपरी मौसमले असर नगरे आँप उत्पादन तेब्बरले वृद्धि हुन्छ’ उनले भने ‘यसबाट गतवर्षको घाटा असूली गरी दोब्बर मुनाफा लिन सक्ने आशामा छु ।’ हावाहुरी र असिनाबाट रोकथाम गर्न पानी र औषधि छर्कन सुरु गरेको उनले सुनाए ।

वर्षेनी अढाई बिघा जग्गामा आँप खेती गर्दै आएका मल्हनवाका किसान मिश्री यादव पनि हौंसिएका छन् । गतवर्ष उत्पादनमा कमी आउँदा उनले आँप खेतीबाट मुनाफा लिन त परै जाओस घाटा सहनु पर्‍यो । गतवर्ष उनले आँपबाट डेढ लाख रुपैयाँ मात्रा भुक्तानी लिए । जसबाट लागत समेत उठेन । तर, यसवर्ष आँपको बोटमा फूल (मरजर) राम्रो भएकाले तेब्बर उत्पादन हुने आशामा उनी छन् ।

उत्पादन राम्रो हुने देखेपछि फूल खेल्दै गरेको बगैँचामा आँप किन्न व्यापारीहरु कृषकको घरदैलोंमा पुग्न थालेका छन् । ‘फूल फूलेकैं बेलादेखि बोट हेरेर व्यापारीहरु आँप ठेक्कामा लिन आउन थालेका छन्’ उनले भने ‘यसवर्ष उत्पादन हेरेर मात्र बेच्ने तयारीमा छु ।’ 

उनका अनुसार गतवर्ष आँप उत्पादन कमी हुँदा बजारभाउ महँगिएको थियो । तर, यसवर्ष आँप उत्पादन बढ्ने भएपछि मूल्यमा गिरावट हुन सक्ने भन्दै व्यापारीले बढी मूल्य दिन खोजेका छैनन् । सिरहा र सप्तरीलाई आँप खेतीको भण्डार मानिन्छ । यहाँको आँप अन्य ठाउँको तुलनामा स्वादिष्ट मानिन्छ । सिरहा र सप्तरीका कृषकहरुले आम्रपाली, मालदह, बम्बई, दशहरी, कलकतिया जातका आँपको खेती गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्र सप्तरीको तथ्यांक अनुसार गत वर्ष सिरहामा कृषकहरुले ५ हजार ८ सय ९५ हेक्टरमा आँप खेती गरेका थिए । त्यसबाट २२ हजार ८ सय ५ मेट्रिक टन मात्र विभिन्न प्रजातीका आँप उत्पादन भएको थियो । त्यसैगरी, सप्तरीमा ७ हजार ८ सय ८८ हेक्टर जग्गामा आँप खेती गरिएको थियो । त्यत्तिखेर २२ हजार १ सय १५ मेट्रिक टन मात्र आँप उत्पादन हुन सक्यो । उत्पादनमा कमी आएकै कारण बजारमा प्रतिकिलो ७० देखि १ सय रुपैयाँसम्म महँगोमा बिक्री भएको थियो । 

त्यत्तिखेर सिरहामा उत्पादित आँप स्थानीय बजारमै खपत हुँदा नारायणघाट, पोखरा लगायत राजधानी न्यून मात्रामा पुगेको थियो । ‘यस वर्ष आँप फल्ने वर्ष भएको र फूल (मरजर) राम्रो लागेकाले उत्पादन तेब्बर हुने सम्भावना छ’ कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख भगिरथ यादवले भन्नुभयो, ‘मौसम अनुकूल भएमा यसवर्ष जिल्लामा १९ हजार मेट्रिक टन भन्दा बढी आँप उत्पादन हुन सक्छ, तर हावाहुरी र असिनाको असर हेर्नुपर्ने हुन्छ ।’

कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार यसवर्ष सिरहामा ७ हजार ८ सय ९५ हेक्टर जग्गामा कृषकहरुले आँप खेती गरेका छन् । मौसमी अनुकूल रहे यसवर्ष सिरहामा ४० हजार २ सय ६५ मेट्रिक टन आँप उत्पादन हुने अनुमान छ । यो उत्पादकत्व दर ५ दशमलव ११ मेट्रिक टन प्रति हेक्टर हुने प्रमुख यादवले जानकारी दिनुभयो । त्यसैगरी सप्तरीमा यसवर्ष ७ हजार ८ सय ९२ हेक्टर जग्गामा किसानले आँप खेती गरेका छन् । ती जग्गामा ४१ हजार ४ सय ३३ मेट्रिक टन आँप उत्पादन हुने कार्यालयको अनुमान छ ।

 यो उत्पादकत्व दर प्रति हेक्टर ५ दशमलव २५ मेट्रिक टन हो । आकासे पानीको भरमा खेतीपाती गर्नुपर्ने र सुख्खा जमिनमा अन्य बाली नफस्टाउने भएकाले अधिकांश कृषक व्यावसायिक आँप खेतीतर्फ आकर्षित हुने गरेको कृषि प्राविधिकहरुको भनाइ छ । झन्झट कम र उत्पादन बिक्री गर्न सहज हुने भएकाले पनि कृषकहरु यसतर्फ आकर्षित भएका हुन् । 

हेरचाह र फल बिक्रीका लागि बजारसम्म पुर्‍याउन झण्झट व्यहोर्नु भन्दा बोट नै बिक्री गर्न सजिलो हुने भएकाले किसानहरुले आँप फूल्न सुरुगरे लगत्तै व्यापारीहरुलाई बगैँचा नै ठेक्कामा दिने गरेका छन् । तराईका सप्तरी, सिरहा, सुनसरी, धनुषा, सर्लाही, महोतरी, कपिलवस्तु, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, बाँके, बर्दिया लगायतमा आँप खेती बढी हुन्छ ।


प्रतिक्रिया