पेट्रोल लुकाउनेलाई २ लाख जरिवाना

चैत्र ५, २०७६ | काठमाडौं

पम्पमा ४ हजार लिटर पेट्रोल मौज्दात रहे पनि बिक्री नगरेको भेटिएपछि सरकारले काठमाडौंको मौतिदेवी पेट्रोल पम्पलाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ । आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोत्ता हित सरक्षण विभागको संयुक्त अनुगमन टोलीले ‘पम्पमा ‘पेट्रोल छैन’ भनेर ट्याग राखिएको अवस्थामा ४ हजार लिटर पेट्रोल भेटेको थियो । 

विभागका अनुगमन निरीक्षक दिपक पोखरेलले पम्पलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना गराएको बताउनुभयो । निगमले पर्याप्त इन्धन पठाएको दाबी गरे पनि बजारमा उपभोत्ताको लाइन छ । केही पम्पहरु बन्द छन् । 

इन्धनका लागि सर्वसाधारणको भीड बढेपछि आजमात्र आपूर्ति मन्त्री लेखराज भट्टले ललितपुरको पुलचोक, जावलाखेल, कुमारीपाटी र एकान्तकुनालगायत क्षेत्रका करिब दुई दर्जन पम्पमा अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा उहाँले न्यून आपूर्तिको त्रासले उपभोक्ताले मौज्दात राख्न थालेकाले आपूर्तिमा समस्या देखिएको बताउनुभयो ।

आयल निगमले इन्धन लुकाउने पम्पलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । केही पम्प र उद्योगीहरुले कृत्रिम अभाव सिर्जना गराई उपभोत्तालाई भयभित बनाएको जनाउँदै निगमले कडा कारबाही गर्ने चेतावनी दिएको हो ।  


प्रतिक्रिया