आपूर्तिको चेन बिग्रन नदिने निकासी पैठारी व्यवसायीको प्रतिबद्धता

चैत्र ६, २०७६ | काठमाडौं

नेपाल समुद्रपार निकासी पैठारी संघले आपूर्ति व्यवस्था सहज बनाउन र कालोबजारी रोक्न सरकारलाई सघाउने प्रतिबद्धता जनाएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै संघले सरकारलाई सहयोग गर्ने तथा आपूर्ति चेन बिग्रन नदिने प्रतिबद्धता जनाएको हो ।

 संघको प्रतिनिधिमण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीलाई भेटेर कोभिड–१९ ले सिर्जना गरेको अप्ठेरो अवस्थामा आपूर्ति चेन खल्बलिन नदिन तथा कालोबजारी र कृत्रिम अभाव रोक्न सरकारलाई सघाउने प्रतिबद्धता जनाएको हो । 

कोरोनाको संक्रमणका कारण नियमित आपूर्तिमा असन्तुलन हुन सक्ने सम्भावनालाई ध्यान राखी संघले आफ्ना सम्पूर्ण सदस्यलाई सजग रहन तथा मर्यादित कारोबार गर्न निर्देशन दिएको विभागका महानिर्देशक सुवेदीलाई जानकारी गराएको छ । 

संघका अध्यक्ष सुनिलकुमार वंशलले बजार अनुगमनलाई चाडपर्व र अप्ठेरो परिस्थिति परेको बेलामात्र सीमित नराखी नियमित बनाउन महानिर्देशक सुवेदी समक्ष आग्रह समेत गर्नुभयो । संघका प्रतिनिधिले पुन:निकासी, कालोबजारी, भारतबाट प्राप्त पाम आयल निकासीको कोटा सीमित व्यवसायीको हातमा पुगेको र एजेन्सी ऐन धेरै पुरानो भएका कारण सिर्जित समस्या समाधान गर्न विभागको ध्यानाकर्षण गराएका थिए । 

विभागका महानिर्देशक सुवेदीले संघले उठाएको वास्तविक चासोका विषयलाई सम्बोधन गर्ने आश्वासन दिनुभयो । नीतिगत सुधार गर्नुपर्ने विषयमा गहन अध्ययन गरी समय सापेक्ष र वैज्ञानिक सुझाव पेस गर्न पनि उहाँले व्यवसायीलाई सुझाउनुभयो । 


प्रतिक्रिया