विद्युतीय माध्यमबाट गरिने कारोबार नि:शुल्क

चैत्र ७, २०७६ | काठमाडौं

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर मुलुकभरका सबै बैंक तथा वित्तीय संस्थाले विभिन्न विद्युतीय माध्यमवाट गरिने कारोबार तत्कालका लागि नि:शुल्क गरेका छन् ।

नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले भीडभाड कम गर्नका लागि प्रोत्साहनस्वरुप इन्टरनेट/मोबाइललगायत विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोवारमा कुनै शुल्क नलिने निर्णय गरेका हुन् । 

यस्तै, कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्र अन्य कुनै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएम प्रयोग गर्दा पनि कुनै शुल्क लाग्ने छैन । नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्ने कनेक्ट आइपीएस सेवामा पनि कुनै शुल्क नलाग्ने बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन र वित्तीय संस्था संघद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

बैंक नोटबाट पनि कोरोना सङ्क्रमणको जोखिम हुने भन्दै बैंक तथा वित्तीय संस्थाले सम्भव भएसम्म कार्ड तथा विद्युतीय कारोवार गर्न समेत आग्रह गरेका छन् ।

यस्तै, भुक्तानी सेवाप्रदायक कम्पनी इ–सेवाले पनि आगामी बैशाख १८ गते सम्म लागू हुने गरी इसेवाबाट आफ्नो बैंकखातामा रकम पठाउादा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।


प्रतिक्रिया