धितोपत्र बजारमा १९ करोडको मात्र कारोबार

चैत्र ९, २०७६ | काठमाडौं

कोरोना संक्रमणको जोखिमसंगै शेयर बजारमा लगानीकर्ताको आकर्षण कम हुँदा धितोपत्र बजारमा आज १९ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।

 आज कुल १ सय २३ कम्पनीको २ हजार ३ सय ९१ कारोबारबाट १९ करोड ४६ लाख ४२ हजार ९ सय ८४ रुपैयाँ बराबरका ४ लाख ८० हजार ५ सय २७ कित्ता शेयर किनबेच भए । यो, कारोबार भएको अन्तिम दिनको तुलनामा १ अर्ब ७० करोड रुपैयाँ बढीले कम हो । 

धितोपत्र बजारमा गत विहीबार १ अर्ब ९० करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । कोरोना संक्रमणको जोखिम बढेसंगै सरकारले आजबाट अत्यावश्यकीय वाहेकका सेवा सञ्चालन नगर्न आग्रह गरेसंगै लगानीकर्ताहरु शेयर बजारमा कम आकिर्षत हुँदा समग्र कारोबार प्रभावित बनेको हो ।

कारोबार रकममा ठूलो अंकले गिरावट आएसंगै बजार परिसूचक नेप्सेमा पनि १८ दशमलव २ अंकले गिरावट आएको छ । नेप्से आज १ हजार २ सय ५१ दशमलव ४५ अंकमा कायम भएको छ । 

होटेल, अन्य र निर्जीवन विमा समुह वाहेक अरु सबै समुहको उपसूचक आज ओरालो लागेको छ । सबैभन्दा बढी जीवन विमा समुहको उपसूचक करिब १ सय ४ अंकले गिरावट आएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ । 


प्रतिक्रिया