पेट्रोलियम पदार्थको मौज्दात पर्याप्त छ : निगम

चैत्र १४, २०७६ | काठमाडौं

नेपाल आयल निगमले पेट्रोल र डिजेलको भण्डारण क्षमताअनुसार मौज्दात पर्याप्त गरेको जनाएको छ । हाल मुलुकभर पेट्रोलको भण्डारण क्षमता ८ हजार ६ सय ३२ किलोलिटर छ । तीमध्ये ७ हजार १ सय ४७ किलोमिटर पेट्रोल मौज्दात रहेको निगमले जनाएको छ । 

डिजेलको भण्डारण क्षमता ४५ हजार ५ सय ३४ किलोलिटर हो । तीमध्ये ४० हजार ४ सय ७२ किलोलिटर मौज्दात रहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताउनुभयो । निगमका अनुसार काठमाडौमा पेट्रोलको भण्डारण क्षमता ५ हजार ३ सय १० किलोलिटर छ । जसमध्ये ४ हजार ५ सय ६९ किलोलिटर मौज्दात रहेको छ । 

अमलेखगन्जमा १ हजार ९ सय ३० किलोलिटर क्षमता छ । त्यसमा १ हजार ६ सय ८८ किलोलिटर मौज्दात छ । पोखरामा ३ सय ५० किलोलिटर क्षमतामध्ये ३ सय १२ किलोलिटर मौज्दात रहेको छ । 

नेपालगञ्जमा २ सय १० किलोलिटरमध्ये १ सय ४८ किलोलिटर, भैरहवामा १ सय ४० किलोलिटरमध्ये ८० किलोलिटर मौज्दात रहेको पौडेलले बताउनुभयो । 

जनकपुर र धनगढीमा पनि पेट्रोल मौज्दात रहेको पौडेलको भनाइ छ । पेट्रोल जस्तै डिजेल पनि सबै भण्डारण क्षेत्रमा मौज्दात रहेको निगमले जनाएको छ ।


प्रतिक्रिया