बागमती प्रदेशका १० जिल्लाका मकै बालीमा फौजी कीराको प्रकोप

जेष्ठ ११, २०७७ | हेटौंडा

बागमती प्रदेशका १० जिल्लामा लगाइएको मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप देखिएको छ । गत वर्षदेखि मकैबालीमा देखा पर्न थालेको उक्त फौजी कीराको विस्तार भएको छ । बागमती प्रदेशका उपत्यका बाहेकका १० जिल्लामा लगाइएको मकैबालीमा यो रोग देखापरेको कृषि विकास निर्देशनालय हेटौंडाकी बाली संरक्षण अधिकृत सुलोचना श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘गत वर्ष यो प्रदेशका २, ३ जिल्लामा मात्र यो रोग देखापरेको थियो, अहिले विस्तार भएर १० जिल्लामा फैलिएको छ ।’ गत आर्थिक वर्षमा सिन्धुली, चितवन र रामेछापका केही भागमा मात्र यो कीरा देखा परेका थिए । मकैको गुवामा फौजी कीराले बोट नै सुकाईदिने गरेको छ । 

कृषि विकास निर्देशनालयका अनुसार बागमती प्रदेशको सिन्धुली, रामेछाप, चितवन, मकवापनुर, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, धादिङ, रसुवा लगायत १० जिल्लामा लगाइएको मकै बालीमा यो रोग देखा परेको छ । सुरुकै चरणमा रोग देखा परेकाले कृषि प्राविधिकहरुलाई सम्बन्धित क्षेत्रमा गएर उपचारका विधिहरु गर्न/गराउन निर्देशनालयले निर्देशन दिईसकेको छ । बाली संरक्षण अधिकृत श्रेष्ठले भन्नुभयो, ‘गत आवमा फौजी कीराले सबै भन्दा बढी सिन्धुलीमा मकै बाली नष्ट गरेको थियो ।’ 

गत वर्ष सिन्धुलीमा मकै बालीमा मात्र होइन धान बालीमा पनि फौजी कीराको प्रकोप देखिएको थियो । कृषि विकास निर्देशनालयका अनुसार गत आवमा बागमती प्रदेशमा फौजी कीराले ४ सय २५ हेक्टर जमिनमा लगाएको मकै बाली नष्ट गरेको थियो । 

बागमती प्रदेशमा १ लाख ९९ हजार १ सय २५ हेक्टरमा मकै खेती गरिएको छ । फौजी कीराको प्रकोप २०७६ साल देखि मात्र यो प्रदेशमा देखा परेको हो । मकवानपुर जिल्लाका १० वटै पालिकाका मकै बालीमा यो रोग देखापरेको प्राविधिकहरुले बताएका छन् ।

कृषि प्राविधिकहरुले कृषकहरुलाई उपचार विधि पनि सिकाईरहेका छन् । हेटौडा उप–महानगरपालिकाका कृषि प्राविधीक रविन्द्र पौडेलले भन्नुभयो, ‘उपमहानगरपालिकाका सबै क्षेत्रका मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप देखिएकाले औषधि उपचार गर्न/गराउन खटिएका छौ ।’ गत वर्ष सिन्धुलीका धानमा पनि फौजी कीरा देखिएको थियो । फौजी कीरा अधिकांश बालीमा लाग्न सक्ने कृषि विज्ञहरुले बताएका छन् ।

नि: शुल्क धानको बीउ :

धानको उत्पादन वृद्धि गर्नका लागि मनहरी गाउँपालिकाले कृषकहरुलाई नि: शुल्क रुपमा धानको बीउ वितरण गरेको छ । मुल बीउ र उन्नत जातको बीउ गरी १५ टन धानको बीउ नि:शुल्क रुपमा वितरण गरेको हो । 

मुल बीउमा शतप्रतिशत र उन्नत जातको बीउमा ७५ प्रतिशत अनुदान दिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । खाद्यन्न उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषकहरलाई अनुदानमा धानको बीउ उपलब्ध गराएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया