पेट्रोलको मूल्य २ रुपैयाँ बढ्यो

पुस १, २०८१ | काठमाडौं

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको हो । डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर दुई रुपैयाँ घटाइएको निगमले जनाएको छ । 

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ २८ पैसा बढेको र डिजेलमा प्रतिलिटर एक पैयाँ ४८ पैसा घटेकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ । 

मूल्य समायोजनसँगै पहिलो वर्ग अन्तर्गत झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर एक सय ५९ रुपैयाँ ५० पैसा कायम भएको छ । 

दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर एक सय ६१ रुपैयाँ र तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर एक सय ६२ रुपैयाँ रुपैयाँ तोकेको छ ।

यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ५१ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ । 

डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


प्रतिक्रिया